Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ फाल्गुण ०१ गते, दिउँसो १:५३ बजे
काठमाडौँ - KTM

राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ- झापा भ्रमण सकेर हेलिकप्टरमार्फत राजधानी आउन लागेका राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि उनका समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर जम्मा भएका छन्। विभिन्न नाराबाजीसहित उनीहरू विमानस्थल परिसर बाहिर प्रतीक्षारत छन्।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ पनि स्वागतका लागि विमानस्थल पुगेका छन्। उनले समर्थकहरूलाई बाहिरै राखेर आफू भने भित्र प्रवेश गरेको जनाइएको छ। पूर्वराजालाई लिएर बाहिर आउने बताउँदै उनी भित्र छिरेका हुन्।

राजालाई विमानस्थलबाट निर्मल निवास सम्म लैजाने तयारीसँगै सुरक्षा सतर्कता उच्च बनाइएको छ। विमानस्थलदेखि गन्तव्य स्थलसम्मको मार्गमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने काठमाडौँका विभिन्न चोक-चोकमा पनि सुरक्षा उपस्थिति बाक्लो बनाइएको छ।

राजावादी धारका समूहहरू तथा राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूले पूर्वराजाको स्वागतका लागि कार्यक्रम तय गरेका छन्। प्रशासनले भीड व्यवस्थापन र शान्ति-सुरक्षा कायम राख्न आवश्यक तयारी गरेको जनाएको छ।