संखुवासभामा बाढीले बगाएर १ जनाको मृत्यु, हाइड्रोपावरका १७ मजदुर बेपत्ता

Posted on: 18 Jun, 2023

असार ३, सङ्खुवासभा | सङ्खुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १७ जना मजदुर बेपत्ता भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । जिल्लाको पाँचखपन नगरपालिका ५ मा बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

बाढीले बगाएर ल्याएको अवस्थामा शवको भेटिए पनि शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । 

चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएको थियो । थुनिएको खोला एक्कासि खुलेर आएको बाढीले आसपासको क्षेत्रमा धेरै क्षति गरेको हुनसक्ने प्रहरीले जनाएको छ । 

बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा क्षति पुर्र्याको छ । उक्त परियोजनामा काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्क विहीन भएकाहरूको अवस्था अज्ञात छ । 

बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ७ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!