Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत २४ गते, बिहान ९:४२ बजे
काठमाडौँ - KTM

काठमाडौंका घरबारे जानकारी लिन एक हजार युवा खटाइने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत २४, काठमाडौं । महानगरभित्र रहेका सम्पूर्ण घरको जानकारी लिनका लागि काठमाडौं महानगरपालिकाले एक हजार युवा परिचालन गर्ने तयारी गरेको छ । 

महानगरभित्र रहेको सबै घरको घर नक्साअनुरुप निर्माण भएको छ वा छैन, भाडामा दिएको छ वा छैन, कुन घरमा कतिजना बसोबास गर्छन्, नियमित कर तिरेका छन् वा छैनन् जस्ता सम्पूर्ण जानकारी लिनका लागि युथ सिटीको अभियान ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । 

महानगरभित्रका करदातालाई करको दायरामा ल्याउन पनि यस अभियानले ठूलो सहयोग पुग्ने कामपाको विश्वास रहेको छ । यस कार्यमा व्यवस्थापन विषय लिई स्नातकोत्तर तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई परिचालन गरिनेछ । 

राजस्व अनुसन्धान तथा करका दायरामा नभएका करदाताको तथ्याङ्क सङ्कलनबाट काम सुरु गर्न विद्यार्थीको उपलब्धताका विषयमा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले क्याम्पस प्रमुखसँग छलफल अघि बढाइसक्नुभएको छ । 

प्रमुख पौडेलका अनुसार विद्यार्थीलाई औपचारिक शिक्षासँगै व्यावहारिक एवम् प्रयोगात्मक प्रमाणपत्र पनि प्रदान गर्न सकिने यस परियोजनामा एक वर्षमा कम्तीमा एक हजार विद्यार्थी सामेल गराइनेछ । यसभित्र जुनसुकै क्षेत्रका पनि करदाता पर्न सक्छन् । 

महानगर क्षेत्रभित्र भएका स्नातकोत्तर तहमा व्यवस्थापन विषय अध्यापन हुने सरकारी क्याम्पसमा शङ्करदेव क्याम्पस, नेपाल कमर्स क्याम्पस, पशुपति क्याम्पस, पद्मकन्या क्याम्पस, पब्लिक युथ क्याम्पसका विद्यार्थीलाई यस कार्यक्रममा सुरु गराइने छ । 

अहिलेसम्म शङ्करदेव क्याम्पसका, नेपाल कमर्स क्याम्पसका र पद्मकन्या क्याम्पसका प्रमुखसँग यस विषयमा छलफल भइसकेको काफ्लेले जानकारी दिनुभयो । रासस