Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

एक करोड रकमसहित तीन हुण्डी कारोबारी पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १८, काठमाडौँ  (रासस) । प्रहरीले रु एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका—२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरी थप कारवाहीका लागि आज राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले जनाएको छ । 

पक्राउ पर्नेमा झापा दमक घर भई काठमाडौँको ताहाचल बस्ने ३१ वर्षका विकास मित्तल, सोही ठाउँका कमल मित्तल र पर्वत कुश्मा घर भई काठमाडौँ बस्ने ३२ वर्षका गणेश पौडेल रहेका छन् ।

अवैध हुण्डी कारोबारीको गिरोह होटलमा गोप्यरुपमा बसेको सूचनाको आधारमा खोजी गर्दै जाँदा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट रु ९९ लाख चौरासी हजारी र ९०० अमेरिकी डलर बरामद गरिएको व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । सोमबार साँझ पक्राउ परेका उनीहरुलाई थप कारवाहीका लागि आज राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।