पढ्न करिब 2 मिनेट लाग्छ

कात्तिक २३, काठमाडौँ । कात्तिक २३ गते । ‘हेलो ! अँ भन्नुस् ।’ ‘…. ’

‘होला अलिअलि । कति चाहिने हो ?’

‘कति बजे भेटिन्छ ?’ सायद यस्तै प्रश्न सोधियो होला उताबाट ।

‘यहाँ बजे भन्ने नियम हुन्न । जतिखेर आए पनि हुन्छ । कति चाहिन्छ, आएर लानुस् ।’

फोनको कुराकानी बिसाएपछि मतिर फर्किएर महावीर पुनले ‘अँ केरे’ भन्दै कुराकानी अगाडि बढाउने सङ्केत गरेपछि भर्खरैको टेलिफोन संवादबारे चासो राखेँ । पीपीईको माग भएको रहेछ । जुन बेला चिकित्सकले पीपीई सेटको अभावमा अस्पतालमा बिरामी जाँच्न डराइरहेका थिए, त्यो बेला आविष्कार केन्द्रले पीपीई बनाएर बाँड्न थालेको थियो । अहिलेसम्म पनि आवश्यकता अनुसार केन्द्रले पीपीई बाँड्दै आएको छ । पुनका अनुसार अहिलेसम्म १७ हजारभन्दा बढी पीपीई सेट वितरण भइसकेको छ, बिना मूल्य ।

सित्तैमा बाँडेर कसरी चल्छ आविष्कार केन्द्र ?

देश विदेशमा रहेका नेपाली र शुभेच्छुक दाताहरूको सहयोगमा अनुसन्धान केन्द्र अगाडि बढाउँदै आएका पुनले भने, “हुनेले जति सक्दो सहयोग गर्छन् तर मूल्य राखेर बेचेका छैनौँ । हामी व्यापार गर्ने संस्था पनि होइनौंँ । आवश्यक पर्नेले लिएर जान्छन् ।”

उनको अनुभवमा सरकारी अस्पतालसँग त खरिद कारोबार नै कठिन छ । त्यहाँबाट पैसा लिनै कठिन । एम्बुलेन्स चालक, सुरक्षाकर्मी, सफाइ मजदुर, स्वास्थ्यकर्मीलाई पैसा लिने कुरो पनि भएन । निजी अस्पतालहरू चाहिँ केही सहयोग गरेर नै सामान लैजान्छन् ।

विभिन्न विधाका ३३ वटा अनुसन्धानका काम भइरहेको राष्ट्रिय आविष्कार केन्द्रका अनुसन्धानकर्मी तथा प्राविधिक जनशक्ति य(ितबेला कोरोना (कोभिड–१९)विरुद्धको अभियानमा दिनरात जुटिरहेका छन् । केन्द्रका प्रमुख पुनले भने, “तीन वर्षअघि स्थापना भएको केन्द्रमा २५ वटा जति अनुसन्धानमा सफलता मिल्दै गएको थियो, पाँचवटा ‘प्रोजेक्ट’ त सकिनै लागेका थिए । कोभिडपछि तिनलाई थाँती राखेर सम्पूर्ण जनशक्ति यतैतिर केन्द्रित गरेका छौँ ।”

केन्द्रमा कोरोना भाइरस उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताललाई आवश्यक उपकरण तथा मेसिनको मर्मतदेखि कोरोना बुथ, नर्सिङ रोबट, डेडबडी ब्यागलगायत १३ वटा वस्तुको उत्पादन कार्य भइरहेको छ । भेन्टिलेटर नै ५० भन्दा बढी मर्मत भइसकेको छ । किड्नी डाइलसिस मेसिन, एक्सरे मेसिनको मर्मत मात्र होइन दुई महत्त्वपूर्ण क्षेत्रमा अनुसन्धानसमेत भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन् ।