मीड सोलु हाइड्रोपावरको आईपीओ खुला

Posted on: 30 Jul, 2023

साउन १४, काठमाडौं | मीड सोलु हाइड्रोपावरको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजबाट (साउन १४) आईपीओ बिक्री खुला गरेको हो ।

हाइड्रोपावरले स्थानीयलाई जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको (१० प्रतिशत) ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको छ ।

१ सय अंकित मूल्यमा ७ लाख ४८ हजार ४ सय कित्ता सेयर स्थानीयलाई जारी गरिएको हो । योमध्ये ५ लाख ६१ हजार ३ सय कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र ११ का बासिन्दालाई निष्कासन खुला भएको छ ।

त्यस्तै, १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको छ ।

सर्वसाधारणमा निष्कासन हुने ७ लाख ४८ हजार ४ सय कित्ता सेयरमध्ये (१० प्रतिशत) ७४ हजार ८४० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् । यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

यस कम्पनीको आईपीओमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म आवेदन दिन पाउनेछन् ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘इक्रा एनपी डबल बी प्लसइस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!