पढ्न करिब 4 मिनेट लाग्छ

फागुन १७, प्योङयाङ (रासस/सिन्ह्वा) । उत्तर कोरियाका नेता किम जोङ अन र संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुबै मुलुकबीच आपसी चासोका विषयलाई सम्बोधन गर्न वार्ता र संवादलाई निरन्तरता दिन सहमति भएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।

“दुई नेताबीच दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउन निकै रचनात्मक र खुलस्त रुपमा विचारहरु आदानप्रदान भए,” केसीएनएले प्रकाशन गरेको समाचारमा जनाइएको छ ।

हनोई शिखर बैठक आपसी सम्मान र विश्वास निर्माण गर्न निकै महत्वपूर्ण ठहरिएको बताउँदै केसीएनएले दुबै मुलुकबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको जनाएको छ । सात दशकदेखिको तनाब तथा आउँदा दिनमा सामना गर्नुपर्ने कठिनाईलाई विचार गरी दुबै मुलुकका जनताको इच्छा बमोजिम दुबै देशले महत्वपूर्ण प्रगति गर्ने केसीएनले बताएको छ ।

राष्ट्रपति ट्रम्प र नेता किमबीचको दुई दिने हनोई वार्ताको दोस्रो दिन राष्ट्रपति ट्रम्पले बीचमै स्थगन गर्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले हनोईमा पत्रकार सम्मेलन गरी उत्तर कोरियाले आफ्नो मुलुकमाथि लागेका सबै प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने शर्त राखेपछि वार्तामा कुनै प्रगति हुन नसकेको बताउनुभएको थियो ।

तर उत्तर कोरियाका विदेश मन्त्री री योङ हो ले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो मुलुकमाथि लागेका प्रतिबन्धहरु आंशिक रुपमा फुकुवा गर्न बैठकमा आग्रह गरिएको स्पष्ट गर्नुभएको छ ।

मन्त्री होले प्रतिबन्धका कारण उत्तर कोरियाली जनताको जीवनस्तरमै असर पार्न लागेकाले त्यस्तो प्रतिबन्ध आंशिक रुपमा फुकाउन आग्रह गरिएको जानकारी दिनुभयो ।

वार्तालाई निरन्तरता दिन्छौं – राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हनोई वार्ताका बारेमा दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन र जापानका प्रधानमन्त्री सिन्जो आबेलाई टेलिफोन गरी जानकारी दिनुभएको छ । ह्वाइट हाउसका अनुसार वासिङ्टन फर्कनेक्रममा राष्ट्रपति ट्रम्पले दुबै नेतालाई फोन गर्नुभएको थियो ।

ह्वाइट हाउसकी प्रवक्ता साराह स्यान्डर्सले राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग वार्तालाई निरन्तरता दिने र गठबन्धनका मुलुकसँग पनि सहकार्यलाई निरन्तरता दिने जानकारी गराउनुभएको बताउनुभयो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दुई देशबीच अर्को वार्ता कहिले हुन्छ भन्नेमा मिति तय नभएको जानकारी दिँदै दुबै मुलुकबीच वार्तालाई घनिभूत गराउन आवश्यक रहेकामा जोड दिनुभयो ।

अब हाम्रो भूमिका अझ बढ्यो – राष्ट्रपति मून

दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार राष्ट्रपति मून जाए–इनले “असफल देखिएको” उत्तर कोरिया र अमेरिकाबीचको वार्तालाई पुनः सही मार्गमा ल्याउन दक्षिण कोरियाले मध्यस्थता गर्ने बताउनुभएको छ ।

कोरियाको स्वतन्त्रता दिवसका अवसरमा मन्तव्य राख्दै राष्ट्रपति मूनले हनोई शिखर वार्ता असफल नभएको चर्चा गर्दै वार्तामा अर्थपूर्ण प्रगति भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वार्तामा दुई मुलुकबीच सम्पर्क कार्यालय खोल्ने बारेमा छलफल भएको छ, र दुई देशबीचको सम्बन्धलाई सामान्य बनाउन यो निकै महत्वपूर्ण कदम हो । मैले राष्ट्रपति ट्रम्पलाई निकै विश्वास गरेको छु । उहाँले वार्तालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ र निकै सकारात्मक धारणा राख्नुभएको छ ।”

“अब हाम्रो भूमिका अझ बढेर गएको छ । मेरो सरकारले संयुक्तराज्य अमेरिका र उत्तर कोरियासँग अझ नजिकको सञ्चार तथा सहयोगात्मक सम्बन्ध विस्तार गर्नेछ । कुनै पनि किसिमले दुई मुलुक सहमतिमा पुगुन् भन्ने मेरो धारणा छ ।”

उत्तर कोरियाली नेता किम शनिबार स्वदेश फर्कने

हनोईमा रहनुभएका उत्तर कोरियाली नेता किम जोङ–अन तोकिएको कार्यतालिकाभन्दा अघि नै शनिबार बिहान स्वदेश फर्कने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

नेता किमले भियतनामको दुई दिने औपचारिक भ्रमण पूरा गरी शनिबार बिहान १० बजे भियतनामको सीमावर्ती शहर दोङ दाङका लागि प्रस्थान गर्नुहुनेछ ।

भियतनामको विदेश मन्त्रालयले शनिबार अपराह्न दोङ दाङतर्फ प्रस्थान गर्ने यसअघि जनाएको थियो । अमेरिकासँगको वार्तामा खासै प्रगति नभएका कारण नेता किमले भियतनाम भ्रमण छोट्याएको हुन सक्ने अनुमान गरिएको छ ।

नेता किमले शुक्रबार अपराह्न भियतनामका राष्ट्रपति न्यूयेन फू ट्रोङसँग भेटवार्ता गर्नुहुनेछ । उहाँलाई राष्ट्रपति कार्यालयमा सलामी अर्पण गरिनेछ ।

उहाँले प्रधानमन्त्री न्यूयेन छुआन फूकसँग भेटवार्ता गर्नुहुनेछ । स्रोतका अनुसार नेता किमले हनोईस्थित भियतनाम–उत्तर कोरिया मैत्री विद्यालयको भ्रमण पनि गर्नुहुनेछ । शनिबार स्वदेश फर्कनुअघि नेता किमले हो ची मिन्ह समाधीस्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

नेता किमले हनोईदेखि दोङ दाङसम्म करिब १७० किलोमिटर सडक मार्गका साथै त्यहाँबाट रेलबाट प्योङयाङ प्रस्थान गर्नुहुनेछ ।