जातिय विभेद राष्ट्रिय अभिशाप, जातिय सदभावका लागि सामुहिक प्रयास

Posted on: 10 Jan, 2017 | views: 868

दिलीप रसाइली (दलित अधिकारकर्मी) |

बैदिक र पौराणिक मान्यतालाई हेर्दाखेरी जातियताको अस्तित्व फेला पर्दैन । बैदिक र पौराणिक ग्रन्थहरुले विश्व वन्धुत्वको भावना, सबैको कल्याण र परोपकार र अहिंसालाई महत्वपूर्ण स्थान दिएको देखिन्छ । जिज्ञासा बस यस्तो महान धारणा राख्ने ग्रन्थबाट प्रेरित सनातन धर्म मान्ने मूलुक नेपालमा जातीयताको संस्कृति कसरी जन्मिन सक्यो त्यो गहन प्रश्नको उत्तर हामी सबैले खोज्न जरुरी छ ।  

१) वसुधैव कटुम्बकम्पको अवधारणा

अयं निजः परोवेति गणना लघुचेतसाम्।

उदारचरितानां तु वसुधैव कुटुम्बकम।।

बसुधैव कटुम्बकम्को अवधारणा ले पनि यो मेरो हो । यो पराईको हो भन्ने बिचार तुच्छ र निम्न कोटीको व्यक्तिहरुले गर्दछन । उच्च संस्कार भएका व्यक्तिहरु समस्त संसार नै परिवार मान्दछन ।

२) विश्व कल्याण को अवधारणा  

सर्वे भवन्तु सुखिन:

सर्बे सन्तु निरामया: 

सर्वे भद्राणि पश्यन्तु मा कश्चित दुःख भाग्भवेत ।। 

सबै सुखी हुन । सबै रोगहरुबाट मुक्त हुन । सबैको राम्रो होस र कसैलाई पनि दुख भोग्न नपरोस र सबैमा शान्ति होस । 

त्यस्तै  गरी महाभारतमा भनिएको छ । मन, बचन र कर्मले कसैलाई पनि दुख दिनु हुदैन । 

३) अष्टादश पुरानेशु व्यासेन बचनं द्दवयम

परोपकार पुन्याय, पापाय पर पिडनम ।।  

अठारवटा पुराणको सारतत्व भनेको अर्काकालागि सहयोग गर्नु भनेको पुन्य अर्थात धर्म हो र अर्कालाई दुखदिने काम नै पाप हो भनिएको छ ।

त्यसै गरी अझ महत्वपूर्ण रुपमा वेदवाणीलाई मनन गर्दा 

४) जन्मना जायते शुद्र

संस्कारातर द्विज् उच्यते ।। 

जन्मदा प्रत्येक व्यक्ति शुद्र हुन्छ । संस्कार, बिशेषत शुद्धिकरण, शिक्षा र चेतनाका आधारमा व्यक्तिको पुर्नः जन्म हुन्छ र जसले गर्दा उच्च दर्जा हासिल गर्दछ । त्यसकारण वैदिक मान्यताका आधारमा पनि जात भन्ने कुरा संस्कार मात्र हो । अतः माथिका बैदिक मान्यताहरुको पुनरावलोकन बाट जात भन्ने कुरा राज्य व्यवस्था र तत्कालिन शासक वर्गले आफ्नो अधिपत्य गर्नका लागि सिर्जीत प्रणाली मात्र हो भन्ने बुझिन्छ । तर, नेपालमा वर्ण व्यवस्था हिन्दु धर्मद्धारा सिर्जित साँस्कृतिक समस्या हो भन्ने बुझाई छ । तर, मेरो दृष्टिकोणमा माथिका वैदिक र पौराणिक उक्तिहरुको मेरो बुझाईबाट नेपालको वर्ण, जात व्यवस्था भनेको समग्रतामा अर्थ राजनीति र साँस्कृतिक प्रणालीसँग सम्बन्धित छ । 

नेपालमा जातीय वर्ण व्यवस्था तीन वटा दिसाबाट फरक फरक समयमा प्रवेश गरेको देखिन्छ। सर्व प्रथम वाग्मती उपत्यकामा ईसाको १७१ देखि २०० को बीचमाजबभारतको वैशालीबाट हिन्दु संरचनाद्वारा प्रशिक्षित भएर आएको लिच्छवीहरु आए र लिच्छवीहरुले किराँत राज्य माथि आक्रमण गरी विजय भए पछि लिच्छवीहरुले वाग्मती उपत्यकामा ४ वर्ण १८ जातको व्यवस्थाबाट शुरु गरे । त्यो इस्वी सम्वतको ८७९ सम्म गयो र मल्ल काल शुरुवात भयो र मल्लहरुले १३०० सम्म पुग्दा दक्षिण भारतबाट ५ जना हिन्दु ब्राम्हणहरु बोलाई ४ वर्ण ६४ जातको व्यवस्था गरे । जुन वाग्मती उपत्यकाको व्यवस्था हो । 

पश्चिममा खसहरु जुन इस्वी सम्वत २५० देखि ५०० सम्ममा आई पुगेका थिए र इसाको छैठौं शताब्दीमा पश्चिम नेपालको खप्तड र सिंजा क्षेत्रमा शंकराचार्य भारतबाट प्रवेश गरे । र त्यहाँ हिन्दु जात व्यवस्था नभएका खसहरु भित्र विस्तारै हिन्दुमत प्रचार गरेको देखिन्छ । त्यसपछि १० औं ११ औं शताब्दी पछि भारतमा मुसलमानको आक्रमण पछि त्यहाँबाट हिन्दु राजा र प्रजाहरुको एउटा खलक विस्तारै कुमाउ गढवाल हुँदै महाकाली नदी तरेर पूर्वतिर सर्दै आएर खस राज्य जहाँ थिए उनीहरुसँग सैद्धान्तिक एकता गर्दै भारतबाट प्रवेश गरेका वैद्धिक आर्यहरुले जात व्यवस्था गरेको पाइन्छ । पैmलिदै फैलिदै गोर्खा सम्म, बेल्कोट मकवानपुर सम्म आई पुग्यो । सेन वंशको राज्य सम्म आई पुग्यो र यसलाई रामशाहले ४ जात ३६ वर्ण लिपीवद्ध गर्ने काम गरे ।

तेश्रो खण्ड तराईमा ११ औ शताब्दीमा जात जातको पञ्जीकरण गर्ने प्रणाली देखिन्छ । त्यस अघि वर्णाश्रम व्यवस्था कहिले आयो भन्ने बारेमा पूर्वमा सहलेशको कथा सिरहामा छ । सहलेश दलितहरुको पक्षमा लडेको भनी वर्षेनी बैशाख पूर्णिमाको दिन मेला लाग्छ त्यो १८०० देखि २००० वर्ष अगाडि देखिको कुरा हो । त्यही समयमा नै पूर्वी नेपालमा वर्ण व्यवस्था आएको देखिन्छ । 

यसरी ३ वटा समयमा नेपालमा ३ दिसाबाट जात वर्ण व्यवस्था आएको देखिन्छ । त्यसै गरी पृथ्वी नारायण शाह पछि जाती भेदहिन्दुकरण गर्दै लगियो र २००७ सालको आसपास आई पुग्दा नेपालमा जात अनुसारको  वर्ग अर्थात आधारभूत रुपमा नेपालको वर्ग संरचना हेर्दा जातमा आधारित वर्ग निर्माण गरिएको देखिन्छ । सम्पति सम्बन्ध यसरी निर्माण भयो कि पानी अचल बनाइएकाहरुलाई आर्थिक क्षेत्र तथा उत्पादनको साधनबाट टाढा राखी वञ्चित गरियो । जमिन उसँग हुँदै नहुने भए पछि  उ स्वभाविक रुपले बाली प्रथा अन्तर्गतको अर्ध दासमा बाँच्नु प¥यो । यो स्थितिको बीचबाट नेपाली समाज अगाडि बढेको देखिन्छ । 

नेपालमा दलितलाई अशिक्षित भनिन्छ, जुत्ता बनाउनु इन्जिनियरिङ्ग हो, कपडा सिलाउनु प्राविधिक हो फलाम कति डिग्रीमा तताउनु पर्छ भन्ने देखि सुनचाँदीका गहना निर्माण गर्नु कालीगढ हो । युरोपमा जसलाई परम्परागत वैज्ञानिक भनिन्छ र प्राविधिक भनिन्छ । त्यो सबै काम नेपालमा दलितहरुले गर्दछन् तर तिनीहरुलाई अशिक्षित भनिन्छ । औपचारिक विश्वविद्यालय, विद्यापीठ, गुरुकूलको शिक्षाबाट त वञ्चित गरिएको थियो तर समग्र जीवन प्रक्रियामा के उनीहरु अशिक्षित हुन् त प्रश्न खडा छ ?

एकथरीले वर्णाश्रम व्यवस्था इतिहाँसको आवश्यक्ता थियो भन्ने गर्छन, के त्यो वर्णाश्रम व्यवस्था आवश्यक्ता थियो वा काम नगरी खाने शासकको निम्ति आवश्यक्ता थियो?अर्को थरी सामान्य साँस्कृतिक समस्या हो भनेर बुझने गर्छन तर वास्तवमा यो आर्थिक र राजनीतिक समस्यासँग अन्तरसम्बन्धित छ भन्ने कुरा बुझन जरुरी छ । आज जातीय भेदभाव छुवाछुत प्रथा अन्त्यको कुरा गर्दै गर्दा दलित दलित बीचको भेदभाव अन्त्य गर्नु पर्छ भन्ने कुरा टड्कारो रुपमा उठेको छ । तर के दलित दलित बीचको विभेदको दोषी दलित हो त ? अवश्य होइन् त्यो त फुटाउ र शासन गर भन्ने नीति अवलम्बन गर्ने रुढीवादी सोचको उपज हो । यद्यपि दलित दलित बीचको विभेद अन्त्य गर्न सम्वेदनशील भई लागि पर्नु पर्ने पनि आवश्यक देखिन्छ । 

हिन्दु वर्णाश्रम÷जातीय व्यवस्था विक्रम संवत १९१० को मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नु पर्ने जातजाती भनी जातीय भेदभाव एवं समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक र धार्मिक रुपमा राज्यका मूल प्रवाहबाट पछाडि पारिएका जातजातिका समुदायलाई दलित वर्ग भनी परिभाषित गरिएको छ । जस्तै ः विश्वकर्मा, परियार, मिजार, वादी, गन्धर्व, पोडे, च्यामे, चमार मुसहर, पासवान, धोवी, तत्मा, खत्वे, बातर, डोम, कोरी, मेस्तर, सरभङ्ग, नटुवा, धरीकर, ढाँढी, चिडीमार, कलर, ककहिया, खटिक जाती समुदाय दलित भित्र सूचिकृत गरिएको अवस्था छ । 

नेपालको संविधान २०७२  मा छुवाछुत भेदभाव विरुद्धको हक पदान गरिएको छ जस अनुसार कुनै पनि व्यक्तिलाई निजको उत्पति, जातजाति, समुदाय, पेशा वा शारीरिक अवस्थाको आधारमा कुनै पनि नीजि तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन् भन्ने व्यवस्था गरिएको छ ।त्यस्तै, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कसैले कुनै पनि व्यक्तिलाई प्रथा परम्परा धर्म संस्कृति रीतिरिवाज, जातजाति वंश समुदाय वा पेसाका आधारमा जातीय भेदभाव वा छुवाछुत गरी सार्वजनिक वा नीजि स्थानमा भेदभाव गर्न नपाइने व्यवस्था छ र यसलाई दण्डनीय बनाई कैदको समेत व्यवस्था गरेको छ । तर यो व्यवस्था अझैपनि समाजमा जस्ताको त्यस्तै रहेको छ । यस्तो अवस्था रहनु आफैमा दुभाग्यपूर्ण छ । यसका लागि हामी सबैले जातीय अन्तरघुलनका लागि हृदयदेखि नै काम गर्नु पर्ने देखिन्छ । 

दलितहरु नेपालमा अर्थतन्त्रमा मात्र हैन् सौन्दर्य  दृष्टिमा पनि विभेदमा छन । जस्तै: जात थाहा भए पछि हेर्ने दृष्टिकोण, बोली व्यवहारमा परिवर्तन ल्याई होचो अर्गेलो शब्द प्रयोग गर्ने । यदाकदा पुराण मै प्रसाद चढाउन नपाइने, विवाह पूजा कार्यमा छोइछिटो गरिने अवस्था कायमै छ । स्वतन्त्र रुपमा मन्दिर प्रवेश गर्न नपाइने, पूजाआजा धार्मिक कार्य, विवाह कार्य आदि सामाजिक कार्यमा निमन्त्रणा नै नगर्ने गरी नजानिदो तरिकाले जातीय भेदभाव छुवाछुतको प्रथालाई निरन्तरता दिएको पाइन्छ । उदयपुर, जिल्लाको हकमा दलित समुदायको जनसंख्या करिव ४०,००० रहेको छ । यस जिल्लामा विश्वकर्मा, परियार, सार्की, डोम, चमार, मुसहर, पासवान आदि जातिहरु बसोबास गर्दै आएका छन् । जातीय भेदभाव छुवाछुत सदरमुकाम नगरपालिका वरिपरी समेत विद्यमान रहेको र पहाडी गाविसमा अझ चरम रुपमा रहेको पाइन्छ । 

१० वर्षे शसस्त्र जनयुद्धको अवस्थामा जातीय भेदभाव छुवाछुतको अमानविय कुप्रथाबाट प्रताडीत दलित समुदाय चरम उत्पीडनमा परेको अवस्थामा जवरदस्त रुपमा घर पसाउ अभियान, छुवाछुत, भेदभाव सबै ठाँउमा अन्त्य गर्ने अभियान चलाईएका थिए । जस बाट बर्षौ देखि जकडिएर रहेको यो कुप्रथा  अन्त्यका लागि केही पहल भएको भएता पनि सामाजिक अन्तरघुलन सहितको सामुहिक अभियान वीना संचालित भएबाट त्यसले दीगोपन लिन सकि रहेको छैन् । अन्त्यमा धर्मको कारणले नै जातीय छुवाछुत तथा विभेदले समाजमा जरो गाडेर बसेको  पाइएको छ र यो ठूलो समस्याको रुपमा छ । विश्व इतिहाँसको कालखण्डमा धर्म गुरुहरुले शासन गरेका थिए । शासनका लागि प्रयोगमा ल्याइएको धार्मिक दस्तावेज कानूनका रुपमा स्थापित भए । मनुस्मृति एउटा दस्तावेज हो जुन धर्म, मानवीय आचरण, अभ्यास र  नैतिकतामा आधारित सामाजिक प्रणाली हो । 

मल्लकालमा आपूmलाई बलियो बनाउन आवश्यक परेको मानव न्याय शास्त्र र जंग बहादुर राणाले आपूmलाई बलियो बनाउन तयार गरेको मूलुकी ऐनले हिन्दु विधि शास्त्रमा आधारित मनुस्मृतिलाई कानुनी रुप दिएकोदेखिन्छ । धर्मका मुल ज्ञान मानवीय तत्व तथा यस ब्रम्हाण्डको तत्व प्राणीका हितका लागि उपयोग गर्ने कुरा जुन मानव अधिकार र समतामूलक समाजसँग सम्बन्धित छ । धर्मको नाममा, छिमेकी, समाज, संस्कार, तथा परापूर्वको वेथितिलाई जानीजानी गरिएको चाल पाइ पाइ गरिएको विभेद आजको २१ अ‍ैौं शताब्दीको वैज्ञानिक युगमा  अवशेष रहि रहनु हामी तमाम नेपाली सबैको लागि अशोभनीय विषय हो र हामी सबैको समस्या हो, आम नेपालीको समस्या हो । हाम्रो समाजको समस्या हो । 

यसै परिपेक्ष्यमा आज नेपालका ६० लाख दलितहरु मध्ये हजारौ दलितहरु हिन्दु धर्म छोडी अन्य धर्ममा प्रवेश गरेको पाइन्छ । हजारौ वर्ष देखि मान्दै आएको धर्म परित्याग गरी धर्म परिवर्तनको विषय एक अहं प्रश्न चिन्हको रुपमा खडा भएको छ । यहाँनिर अब जातीय भेदभाव छुवाछुुत अमानवीय रुढीबादी कुसंस्कायुक्त कुप्रथाको जरोलाई विस्तारै चिरिदै पनि आएको छ र अझ द्रुततर गतिमा चिर्न जरुरी छ । 

हामी सबैले आ–आफ्नो ठाँउबाट मानवीय कलंकरुपी अभिशापयुक्त सामाजिक अपराध र अवशेषको रुपमा रहेको सामाजिक भेदभाव छुवाछुत कुप्रथाको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने अभियानमा लाग्न जरुरी छ । 

धन्यबाद ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!