मजदुरी गर्न गएका दाङका ३ युवकको भारतमा मृत्यु

Posted on: 12 Apr, 2019

चैत २९, दाङ । भारतमा मजदुरी गर्न गएका दाङका ३ युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका २ अमुवाका २३ वर्षीय नोखिराम भण्डारी, २१ वर्षीय प्रकाश वली र २४ वर्षीय पूर्णबहादुर वली रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले शुक्रबार सार्वजनिक गरेको जानकारी अनुसार, श्रमका लागि भारत हिमाञ्चल प्रदेशको कुल्लु मनाली गएका नोखिराम भण्डारी र प्रकाश वली गएको चैत १० गते मृत अवस्थामा फेला परेका थिए । पूर्णबहादुर वलीको खोजतलासको क्रममा गएको चैत २५ गते कुल्लु मनाली पतलिकुहलको जंगलमा शव फेला परेको थियो ।

मृतक तीनै जनाको शव दाङ ल्याइएको छ । १० गते शव फेला परेका दुवैजनाको शव आफन्तको जिम्मा लगाइएको छ भने २५ गते फेला परेकाे पूर्णबहादुर वलीको शव आफन्तले बुझेका छैनन् । उनको शव प्रादेशिक अस्पताल तुलसीपुर दाङमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो । 

ज्यान गुमाएका उनीहरुसहित ६ जनालाई शान्तिनगर गाउँपालिकाका जाइफली मिया मिटले श्रमका लागि भारत लगेको भन्दै मृतकका आफन्तले मियामाथि छानबिनको माग गरेका छन् । मियालाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!