दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, हालसम्म ८ जनाको सनाखत

Posted on: 13 Jan, 2024

पुस २८, बुटवल | बाँकेको नेपालगञ्जबाट काठमाडौँका लागि गुडेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ती नदीमा खसेर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । भने हालसम्म आठ यात्रुको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरीका अनुसार नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गएराति साढे १० बजे राप्ती नदीमा खसेको थियो । 

 दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका– ५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइते भएकामध्ये आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार अन्यलाई पाँचवटा एम्बुलेन्समा शिक्षण अस्पताल लगिएको थियो । नमस्ते यातायातको बसमा ३६ जना सवार थिए।

प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!