दाङका कारागारलाई कम्प्युटर सहयोग

Posted on: 07 Feb, 2021

माघ २५, काठमाडौँ । कारागारलाई सुधार गृहसँगै सीप तथा ज्ञानको सिकाइ केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले दाङका दुई कारागारमा कम्प्युटर प्रदान गरिएको छ । रोटरी क्लब अफ दाङको समन्वयमा विभिन्न रोटरी क्लब र संस्थाको सहकार्यमा घोराही र तुलसीपुर कारागारमा १०-१० थान कम्प्युटर प्रदान गरिएको हो । 

गुडविल कम्युनिटी फाउण्डेशन एनसी, युएसए, रोटरी क्लब अफ ब्रान्चवुर्ग एनजे युएसए, रोटरी क्लब अफ धुलिखेल, सामुदायिक सेवा केन्द्र र आशा प्रोजेक्टको फ्रेण्डस अफ नेपालको सहयोगमा कारागारमा कम्प्युटर प्रदान गरिएको हो । घोराही र तुलसीपुरका कारागारका कैदीबन्दीका लागि कम्प्युटर हस्तान्तरण गरिएका हो । 

कारागारलाई सुधारगृहसँगै सीप तथा ज्ञानको सिकाइ केन्द्र बनाउने र कारागारबाट निस्केपछिको जीवनलाई सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको गुडविल कम्युनिटी प्रतिनिधि अशोक श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा कैदी बन्दीहरुले पढ्न लागेको कुरा थाहा पाएपछि उनीहरुलाई कितावी ज्ञानसँगै प्रविधिको ज्ञान पनि होस् भन्ने उद्देश्यले सहयोग गरिएको उहाँले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कारागारभित्रै बसेर पनि नयाँ प्रविधि र युग सहाउँदो ज्ञान हासिल गर्न सकिन्छ भन्नुभयो । उहाँले ज्ञानको भण्डार असिमित रहेको भन्दै कैदीबन्दीले कारागारभित्रै बसेर पनि ज्ञान हासिल गर्नसक्ने अवसर आएकोमा खुशी व्यक्त गर्नुभयो ।  

कार्यक्रममा तुलसीपुर कारागारका प्रमुख युवराज परियारले कैदीबन्दीलाई प्राप्त अवसरलाई भरपुर सदुपयोग गरी ज्ञान हासिल गर्न सुझाव दिनुभयो । घोराही कारागार प्रमुख विष्णुप्रसाद पाण्डेले कसुरमा कारागारमा सजाय भोग्दै गरेका कैदी बन्दीमा सकारात्मक सोचको विकाससँगै पढ्ने बानीको विकास भएको बताउनुभयो । 

महोत्सवमा रु ५४ लाख बचत

तुलसीपुर उद्योग वाणिज्य सङ्घले गतवर्ष सञ्चालन गरेको महोत्सवको आयव्यय विवरण सार्वजनिक गरेको छ । शनिबार सङ्घको २६औँ साधारणसभामा वाणिज्य सङ्घका कोषाध्यक्ष डिल्लीबहादुर वलीले महोत्सवमा विभिन्न शीर्षकमा रु ८७ लाख ८९ हजार ५१२ आम्दानी भएको ३३ लाख ९९ हजार ४३७ खर्च भएको जानकारी दिनुभएको छ । 

उहाँले सबै खर्च कटाएर महोत्सवबाट रु ५३ लाख ९० हजार ७५ बचत भएको जानकारी दिनुभयो । कोरोना महामारीका कारण आफूहरुले आयव्यय सार्वजनिक समयमा गर्न नसकेको सङघका अध्यक्ष वीरबहादुर रातवले बताउनुभयो । सङ्घले गत वर्षको माघ महिनामा महोत्सव आयोजना गरेको थियो ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!