वैदेशिक रोजगारीको नाममा दर्जनौँ व्यक्तिलाई ठगी गर्ने पक्राउ

Posted on: 31 Jan, 2017


माघ १८, काठमाडौँ । कतारलगायत खाडी मुलुकमा आकर्षक तलब सुविधा, खाने तथा बस्ने व्यवस्थासमेत छ भनी ठगी गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले धनुषा जिल्ला मिथिलेश्वर गाविस घर भई हाल ललितपुर नकबहिल बस्ने अमन भन्ने मोहम्मद अजमत अली साहलाई पक्राउ गरेको हो । उनले विभिन्न कम्पनीको नक्कली मागपत्र देखाई रोजगारीमा पठाइदिन्छु भन्दै प्रत्येक पीडितसँग राहदानी लिई प्रतिव्यक्ति रु एक लाख १० हजारदेखि रु दुई लाख सम्मको रकम उठाई ठगी गर्दै आएको ब्यूरोले जनाएको छ । 

कुनै आधिकारिक वैदेशिक रोजगार व्यवसायी तथा प्रतिनिधिसमेत नरहेका साहविरुद्ध हालसम्म ८७ जना पीडितले ब्युरोमा जाहेरी दर्खास्त दिइसकेका छन् । साहको डेरा कोठाबाट तीन थान भारतीय राहदानी र १७७ थान नेपाली नागरिकको राहदानीसमेत बरामद भएको प्रहरीले जनाएको छ । 

पछिल्लो आठ/नौ महिनामाको अवधिमै पीडितहरूकै नामबाट सिम कार्ड निकाली १५ वटाभन्दा बढी मोबाइलको सिम प्रयोग गरेको ब्यूरोले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!