देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई कारवाही गर्छौं: गृहमन्त्री थापा

Posted on: 30 Sep, 2018

असोज १४, विराटनगर | गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्नेछ भन्नुभयो । गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले शान्ति सुरक्षा खल्बल्याउने एवं अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गर्ने बताउनुभयो । उहाँले नेपाली जनताले दिएको जनादेशअनुसार सरकारले जनताको आर्थिक समृद्धिका लागि काम गरिरहेको र विगत ६ महिनामा मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको बताउनुभयो । 

मन्त्री थापाले विगतमा देशमा हुने गरेका बम विस्फोटन, बन्द हडताललगायत जस्ता कार्य नियन्त्रणमा आएको दाबी गर्दै वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षाको अनुभूति दिएको धारणा व्यक्त गर्नुभयो । उहाँले निर्मला पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषी चाँडै कारवाहीको प्रक्रियामा ल्याइने बताउनुभयो । पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषद्मा छलफलपछि सार्वजनिक गरिने बताउनुभयो । 

गृहमन्त्री थापाले वर्तमान सरकारले राम्रो काम गरिरहेकाले पराजित तथा विगतका षड्यन्त्रकारीले अत्तालिएर सरकारलाई विभिन्न किसिमले घेराबन्दी गर्ने काम गरिरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले मुलुकमा अस्थिरता चाहनेले सरकारले राम्रो काम गर्दासमेत सरकार गिराउनेसम्मको षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । गृहमन्त्री थापा केही दिनअघि हत्या गरिएका सुनसरीको हरिनगरका शिक्षक खुर्सिद आलम अन्सारीका परिवारलाई समवेदना प्रकट गर्न आज विराटनगर आउनुभएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!