तल्लो मोदीखोला जलविद्युतले ग¥यो नब्बे प्रतिशत कार्य पुरा

Posted on: 30 Apr, 2017


पर्वत , पर्वतमा निर्माणाधिन २० मेघावाटको तल्लो मोदी जलविद्युत आयोजनाले ९० प्रतिशत कार्य पुरा भईसकेको जनाएको छ । आयोजनाले यही असार भित्र विद्युत उत्पादन गर्ने लक्ष्य लिई निर्माण कार्यलाई तिव्र पारेको हो । 

जलविद्युत आयोजनाका प्रवन्धक पवनकुमार यादवका अनुसार आयोजना अन्तरगत बाँध निर्माण, इनटेक, ग्राभेल ट्राप, एप्रोच क्यानल लगायतका प्रमुख कार्यहरुको प्रगति ९० प्रतिशत पुगेको हो । पाँच वर्ष भित्रमा सम्पन्न गरिसक्ने लक्ष्य लिई २०६९ सालमा शुरु गरेको आयोजनाको कुल लागत स्टमेट ३ अर्व ६० करोड रहेको छ । आयोजना प्रवन्धक यादवले असार भित्रमै आयोजनाको कार्य सम्पन्न भै विद्युत उत्पादन गर्ने योजना भए पनि नाकावन्दी र भूकम्पका कारण केही ढिलाई हुन पुगेको बताए । आउँदो यही असार भित्र नै विद्युत उत्पादन गरी सक्ने लक्ष्य सहित निर्माण कार्यलाई तीव्रता दिएको आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेले जनाए ।

मोदी गाउँपालिकास्थित पातीचौरबाट शुरु गरिएको आयोजनाको ४ किमी लम्वाईको टनेल पुरा भई सकेको छ भने यसको ढलन र प्लास्टर काम तीव्र अघि बढाइएको छ । यो टनेल कुनपा ८ परादीमा स्थित पावर हाउसमा टुंगिनेछ । टनेल निर्माणका लागि मात्र आयोजनाले करीव १ अर्व रकम खर्चिने छ । पावर हाउसको भने ७० प्रतिशत कार्य सम्पन्न भई सकेको आयोजनाले जनाएको छ । 

त्यसैगरी इनटेक, डिसेन्डर (बालुवा हटाउने) निर्माण भइसकेको छ । प्रवन्धक यादवका अनुसार आयोजना निर्माण सम्पन्न गर्नका लागि आवश्यक सामाग्री सवै ल्याइ सकिएको छ । आयोजनाको वार्षिक ११ करोड ७० लाख युनिट विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको ईन्जिनियरिङ लगायत कन्सट्रक्सनको कार्य साउथ एसियन एन्फास्ट्रक्चर र मनाङ ट्रेड लिङकले गरेका छन् । 

कुश्मा नगरपालिका र मोदी गाउँपालिकाको तिलाहार, बाजुङ, देउपुरलाई विद्युत प्रभावित क्षेत्रमा लिइएको छ । प्रभावित क्षेत्रमा विकास निर्माणमा कुल लगानीको १ प्रतिशत लगानी गर्ने शर्त अनुसार अहिलेसम्म जलविद्युत आयोजनाले ३ करोड भन्दा बढी रकम लगानी गरिसकेको प्रवन्धक यादवले जानकारी गराए । पारदर्शी ढंगले सम्वन्धित क्षेत्रका उपभोक्ता मार्फत् निर्माण कार्यलाई अगाडि बढाइएको समेत प्रवन्धक यादवको दावी छ ।     


यस बिषयमा तपाइको प्रतिक्रिया...!