कालीगण्डकी उर्लिएपछि पर्वतको सेतीवेणीबजार डुबानमा

Posted on: 15 Jun, 2021

असार १, पर्वत (रासस)। लगातार परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुबानमा परेको हो । 

कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरूपमा डुबानमा परेको स्थानीय तीलक पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान चार बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन् । दश घरपरिवार र उनीहरूको पसलमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो । 

बजार र शिला डुबानमा परेसँगै उक्त स्थानका वासीन्दा आतङ्कीत बनेका छन् । नदीको बहाब उर्लिएर बजार क्षेत्रमै आइपुगेपछि व्यावसायीसुरक्षित स्थानमा सामान सार्न थालेका छन् । शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचनासमेत डुबाएको छ ।

बजारवासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबीयनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्णरूपमा क्षति पुगेको उनले बताउनुभयो । यता पानीको बहाब ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । कालीगण्डकी र सेती खोला दुवैको बहाब उच्च हुँदा समस्या भएको हो । पानी नरोकिएकाले अझै जोखिम बढ्ने अवस्था छ । 

मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको छ । सेतीवेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजातर्फको बजार क्षेत्रमा झण्डै २०० व्यापारी तथा सर्वसाधरण समस्यामा पर्ने गरेका छन् । विगत ११ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरूमा सधैँभर त्रास थप्ने गरेको स्थानीय व्यावसायी विष्णु न्यौपानेले बताउनुभयो । 

कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’को बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षा निकायले स्थानीयलाई सुक्षित ठाउँमा राख्न प्रयास गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!