लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Posted on: 13 Jun, 2021

जेठ ३०, बुटवल (रासस)। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो ।

यसअघि मुख्यमन्त्री शङ्कर पोखरेलले आव २०७८÷७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बहुमतको निर्णयलाई प्रदेशसभाले स्वीकार नगरेको उल्लेख गर्दै कानून कार्यान्वयनका विषयमा आफ्नो अरुचि नरहेको जनाउनुभयो । 

उहाँले प्रदेशसभाका सदस्य लोकतन्त्रमा आलोचनाले सही बाटोमा अघि बढ्न निर्देश गर्ने र सही बाटो पत्ता लगाउने विधि छलफल भएको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “दलीय प्रणालीमा विश्वास राख्ने हो भने राजनीतिक रुपमा सरकारसँग बहुमत छ ।” 

उहाँले नेकपा (एमाले)सँग ३९ र जनता समाजवादी पार्टीसँग छ सदस्य रहेको जानकारी दिँदै जनता समाजवादी पार्टीका विषयमा प्रदेशसभा सचिवालय नै स्पष्ट नभएको आरोप लगाउनुभयो । कोरोना महामारीविरुद्धको लडाइँमा प्रदेश सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उहाँले खोप व्यवस्थापनको विषय सङ्घीय सरकारको भएको स्पष्ट गर्नुभयो । 

उहाँले नदीजन्य पदार्थको व्यवस्थापनको काम प्रदेश सरकारले नगरेको र त्यो काम स्थानीय पालिकाले गरेको जानकारी दिँदै राजश्व बाँडफाँडको काम भएको छ तर कम पालिकाबाट ४० प्रतिशत राजश्व प्राप्त गरेको बताउनुभयो । उहाँले मर्चवार क्षेत्रको विकासका लागि दोब्बर बजेट विनियोजन भएको र त्यहाँको विकासलाई उच्च प्राथमिकता दिइएको स्पष्ट गर्नुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!