रुपन्देहीमा दुई मजदुर समूहबीच झडप : एक जनाको मृत्यु, तीन घाइते

Posted on: 19 Sep, 2023

असोज २, रुपन्देही | सोमबार राती रुपन्देहीको तिलोत्तमामा दुई मजदुर समूहबीच विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ, भने तीन जना गम्भीर घाइते भएका छन् ।

मदिरा सेवन गरी मजदुरहरू धारिलो हतियारसहित आपसी झडपमा उत्रिएका थिए ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केरवानीमा मजदुरी काम गर्दै आएका दुई पक्षबीच सोमबार राति झडप भएको हो ।

झडपका क्रममा हेटौडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । उनको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

झडपका क्रममा घाइते हुनेहरूमा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

झडपमा संलग्न १३ जना मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक थापाले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

स्थानीयले मकवानपुरे र नुवाकोटे समूहका नाममा झडप भएको बताए पनि प्रहरीले भने यसबारेमा केही उल्लेख गरेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!