रुपन्देही व्यापार संघद्वारा जनप्रतिनिधिलाई सम्मान

Posted on: 08 Jul, 2017


असार २४, बुटवल । असार १४ गतेको स्थानीय तह चुनावमा निर्वाचित बुटवलका जनप्रतिनिधिहरुलाई रुपन्देही व्यापार संघले एक समारोहका बीच स्वागत र सम्मान गरेको छ । बुटवल उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत र सम्मान गर्दै संघले बुटवलको विकासमा आफुहरु सहकार्य गर्न तयार रहेको बताएको छ । 

सो अवसरमा सहभागी संघका विभिन्न तहका पदाधिकारी, सदस्य, सल्लाहकार तथा संघ संस्थाका प्रतिनिधिहरुले जनप्रतिनिधिहरुलाई असली जनपतिनिधि र सेवक बनेर काम गर्न आग्रह गरे । 

संघले शनिबार एक समारोहका बीच नवानिर्वाचत मेयर, उपमेयरसहित बुटवलका १९ वटै वडाका अध्यक्ष, महिला सदस्य, दलित र खुला सदस्यहरु सबैलाई सामूहिक रुपमा स्वागत र सम्मान गरेको थियो । 

नवनिर्वाचित मेयर, उपमेयरसहितका जनप्रतिनिधिहरुले मतदाता र जनसाधारण सबैलाई धन्यवाद ज्ञापन गर्दै आफुहरु सेवक बनेर काम गर्ने प्रतिबद्धता दोहोराए । बुटवलको समृद्धि र विकासका लागि आफुहरु सबैसित सहकार्य र समन्वय गर्न तयार रहेको भन्दै चुनावका बेलामा भएका सबैखाले प्रतिस्पर्धाहरु अब भुलिएको मेयर शिवराज सुवेदी, उपमेयर गोमादेवी आचार्यले बताए ।

सो अवसरमा संघका अध्यक्ष मोतिलाल पाण्डे, पूर्व अध्यक्षहरु शंकर भट्टराई, टंकप्रसाद पोखरेल, उपाध्यक्ष यमलाल लोहोनी, महासचिव डिल्लीराज भण्डारीसहित कार्यसमितिका पदाधिकारीहरुले सामूहिक रुपमा स्वागत र सम्मान गरेका थिए । त्यसक्रममा उनीहरुले बुटवलको समग्र विकासका लागि आफुहरु हातेमालो गर्न तयार रहेको भन्दै निजी क्षेत्रका समस्या समाधानमा केन्द्रित हुन आग्रह गरेका थिए । 

कार्यक्रममा सहभागी संघका आजिवन सदस्यहरु, कार्यसमिति सदस्यहरु तथा सदस्यहरुले सेवाग्राहीका कामलाई प्राथमिकता दिन आग्रह गरे ।

बुटवल व्यापारिक केन्द्र र पर्यटकीय हबका रुपमा विकास भइरहेकाले यसलाई अझ व्यवस्थित र समुन्नत बनाउने काममा जनप्रतिनिधिहरु र निजी क्षेत्रहरुका बीचमा सहकार्य जरुरी रहेको बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्य, संघका सल्लाहका तुलसीराम बञ्जाडे, बुटवलका सबै वडा अध्यक्षहरुका तर्फबाट बुटवल ४ का नवनिर्वाचित वडा अध्यक्ष टंकप्रसाद पराजुली, रेडियो लुम्बिनीका स्टेशन म्यानेजर इन्दीरा अर्याललगायतले शुभकामना व्यक्त गर्दै जनताका सेवक बनेर काम गर्न सुझाव दिएका थिए । 

संघका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत उपाध्यक्ष यमलाल लोहोनी र सञ्चालन महासचिव डिल्लीराज भण्डारीले गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!