सप्तरी पाचौं दिन बन्द, जनजीवन प्रभावित

Posted on: 10 Mar, 2017

फागुन २७, सप्तरी । सप्तरीमा प्रहरीको गोली लागेर चारजना मधेसी मोर्चा कायकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अह्वान गरेको अनिश्चितकालीन बन्द कार्यक्रमअन्तर्गत आज पाँचौं दिन सप्तरीमा बन्दको प्रभाव भएको छ ।

मोर्चाको बन्दको कारण सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्, भने पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चपुर, कल्याणपुर र रुपनीलगायतको ठाउँमा मोर्चाको कार्यकर्ता आज पनि टायार बालेर प्रदर्शन गर्दै बन्द गराएका छन्।

गत सोमबार प्रहरीको गोली लागेर चारजना मोर्चाका कार्यकर्ताको मृत्यु भएको तथा प्रहरीले दमन गरेको विरोध गर्दै अनिश्चितकालिन जिल्ला बन्दको अह्वान गरेको छ।

बन्द कार्यक्रमअन्तर्गत जिल्लामा यातायात, कलकारखाना, उद्योगधन्दा, शौक्षिक संस्थालगायत सबै बन्द गराएको छ । बन्द सफल गराउन आक्रोशित मधेसी मोर्चा कार्याकर्ता आज पनि बिहानदेखि ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन्।

नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा आयोजना गरिएको जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार झडप भएको थियो।

सो झडपको क्रममा प्रहरीले चलाएको गोली लागि चारजना मोर्चा कार्यकर्ताको मृत्यु भएको थियो भने २० भन्दा बढी कार्यकर्ता घाइते भएका थिए । प्रहरीले भने सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।

यसैबीच बन्दको अवज्ञा गरेको भन्दै राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिकक्षेत्र अगाडि ना ५ ख ६७१३ नम्बरको स्वास्तिका ट्राभल्सको बसमा आगजनी गरी क्षति पुर्‍याएका छन्।

त्यस्तै मोर्चाको कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमा प्रहरीको स्केटिङ्गमा रहेका केही गाडीमा समेत तोडफोड गरी क्षति पुर्‍याएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!