मेलमिलापको चेतना जगाउन सिन्धुपाल्चोकका गाउँगाउँमा नाटक

Posted on: 15 Mar, 2017

चैत २, मेलम्ची । समाज घट्ने साना तथा ठूला घटनालाई समाजमै मिलाउनको लागि सिन्धुपाल्चोक जिल्लाको गाउँगाउँमा मेलमिलापसम्बन्धी सचेतनात्मक सडक नाटक प्रस्तुत गरिएको छ । 

जिल्लाभरि नै सामुदायिक मेलमिलाप केन्द्रको बारेमा जानकारी दिने र यसको प्रभावकारिताका बारेमा सूचित गर्ने उद्देश्यले प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना र दि एसिया फाउन्डेसनको सहयोगमा आवाज आर्ट क्रियसनले जनचेतनामूलक सडक नाटक अभियान सञ्चालन गरेको हो । 

आर्ट क्रियसनले सिन्धुपाल्चोकका हरेक नगरपालिका र गाउँपालिकामा जनचेतनामूलक सडक नाटक अभियान सञ्चालन गरेको हो । स्थानीयस्तरमा हुने विवाद अदालतसम्म पुग्नबाट रोकी सोही क्षेत्रमा नै संवादबाट समाधान गर्ने लक्ष्य लिएर सडक नाटक अभियान सुरु गरिएको आवाज आर्ट क्रियसनका निर्देशक कृष्णप्रसाद धितालले बताउनुभयो । 

जिल्लामा ७०० भन्दा बढी विवाद लिखित सहमतिका साथ समाधान भइसकेकाले अभियान निकै प्रभावकारी बनेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल सिन्धुपाल्चोकका कार्यक्रम संयोजक उद्धवप्रसाद अधिकारीले बताउनुभयो । 

आयोजक टिमले सचेतनामूलक सडक नाटक अभियान चैत महिनासम्म चल्ने बताएको छ । नाटकमार्फत चेतना फैलाउँदै गाउँगाउँमा फाटेका मनलाई जोड्ने अभियान निकै प्रभावकारी बन्ने आयोजकको दाबी छ । 

स्थानीयस्तरमा हुने विवादलाई मिलाएर शान्ति कायम गर्न सडक नाटक कार्यक्रमलाई सञ्चालन गरिरहेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रका कार्यकारी निर्देशक चुपबहादुर थापाले बताउनुभयो । दुई पक्षको विवादलाई संवाद गरेर मिलाउने काम सामुदायिक मेलमिलाप केन्द्रले गर्ने थापाको धारणा छ । 

सरकारले द्वन्द्व तथा विवाद छलफलबाट निवारण गर्ने उद्देश्यले २०६८ सालमा मेलमिलापसम्बन्धी ऐन र २०७० सालमा नियमावाली नै ल्याएको थियो । 

सोही ऐन र नियमावलीको अधिनमा रही प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले मध्यमाञ्चल क्षेत्रको पाँच जिल्लामा सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरिरहेको छ । यस अभियान चैतको पहिलो साताबाट काभे्र, दोलखा, रसुवा र नुवाकोटमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!