भिमटार र बाहुनेपाटीको चौकी शिलान्यास

Posted on: 27 Mar, 2017

चैत १४, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको भिमटार र बाहुनेपाटीमा अस्थायी प्रहरी चौकी निर्माण गर्न आइतबार चौकीको शिलान्यास गरिएको छ । 

दुई करोड ५० लाख ८८ हजार ५१ लागतमा निर्माण हुन लागेको चौकीको सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र केसीले शिलान्यास गर्नुभएको हो । 

प्रहरी प्रमुख केसीले जिल्लाको प्रहरी चौकी पुनःनिर्माणको काम आफूहरुको प्राथमिकतामा रहेको बताउनुभएको थियो । 

जिल्लामा रहेका ३१ वटा प्रहरी चौकीमध्ये हाल २७ वटा चौकी निर्माणका लागि पुनःनिर्माण प्राधिकरणबाट बजेट विनियोजन भइसकेको छ । 

आइतबार मात्र दुई वटा चौकी निर्माणका लागि शिलान्यास भएको र इलाका प्रहरी कार्यालय मेलम्चीको मातहतमा रहेको तिपेनी, भोटेचौर, मानेखर्क सेरा र ठोर्कपाको भवन शिलान्यासको क्रममा रहेको केसीले जानकारी दिनुभयो । 

त्यस्तै दोलखा जिल्लाको सिमानामा पर्ने मुडे र ठूलोपाखर, बलेफी, इर्खु, तेम्बाथान तथा फुल्पिङकट्टीमा टेन्डरको प्रक्रिया सुरु भइसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

चौकी निर्माणका लागि बाँकी रहेको स्थानमा जग्गा उपलब्ध हुने बित्तिकै भवन निर्माणको कार्य थालिने प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!