राष्ट्रिय सडक सञ्जालसँग जोडियो तल्लो हुम्ला

Posted on: 14 Dec, 2020

मंसिर २९, हुम्ला | राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्लाको भूगोल अब सडक सञ्जालमा जोडिएको छ | हुम्लाको तल्लो क्षेत्रमा रहेका ताँजाकोट, अदानचुली र सर्केगाड गरी तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएका हुन् |

कर्णाली करिडोर सडकको निर्माणको जिम्मा लिएको नेपाली सेनाले कालीकोट बाजुर हुँदै हुम्लाको सिमाना कवाडीबाट वालुकुनासम्मको करिब २७ किलोमिटर ट्र्याक खुलाएर गाडी चल्न सुरू गरेपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा समाहित भएको हो |   

नेपाली सेनाले निर्माणको जिम्मा लिएको उक्त सडकखण्डको हुम्ला जिल्लाका जनप्रतिनिधि र सुरक्षा अधिकारीको टोलीले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको छ | शुक्रबार जिल्ला सदरमुकाम सिमकोटबाट आएको जिल्लाका अधिकारीको टोलीले निर्माणाधीन कर्णाली करिडोरको संयुक्तरूपमा अनुगमन गरेको हो |

हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाको नेतृत्वमा आएको जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीको टोलीले हुम्ला र बाजुरा जिल्लाको सिमाना ताँजाकोट गाउँपालिकाको कवाडी, अदानचुली र सर्केगाड गाउँपालिकाको वालुकुनासम्मको सडकको अनुगमन गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए |

नेपाली सेनाले ट्र्याक खोलेको उक्त सडकमा अहिले सेनाको अनुमतिमा अत्यावश्यक कामका नाममा केही सवारी साधन सञ्चालनमा आउने गरेका छन् | यो सडक विभागलाई हस्तान्तरण भएपश्चात निर्वाधरूपमा सवारी साधन चल्ने र यातायातको पहुँचमा नभएका हुम्ला, मुगुका नागरिकलाई सहज हुने अध्यक्ष फडेराले बताए |(रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!