निषेधाज्ञामा रोकिएन पुनःनिर्माण

Posted on: 13 May, 2021

शर्मिला पाठक । वैशाख ३०, काठमाडौँ (रासस)। विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ दरबार क्षेत्र (हनुमानढोका क्षेत्र)का ऐतिहासिक सम्पदा पुनःनिर्माणका काम पहिलेकै गतिमा भइरहेका छन् । विश्वभरि फैलिएको कोभिड–१९ महामारीका कारण यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित अन्य जिल्लामा सरकारले निषेधाज्ञा जारी गरेको भए पनि यहाँको ऐतिहासिक सम्पदाको पुनःनिर्माणको काम नियमितरूपमा भइरहेको छ ।

निषेधाज्ञाकै बीच कामदारले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै पुनःनिर्माणको काम गरिरहेका छन् । गोरखा भूकम्पका कारण ५८ वटा सम्पदामा क्षति भएको थियो । तीमध्ये अहिले २७ सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० सम्पदामध्ये १२ मा भूकम्पले क्षति गरेको थिएन । आगम्छे मन्दिर, मोहनकाली र नागपोखरीसँगै रहेको शिव मन्दिरको पुनःनिर्माण शुरु हुन बाँकी छ ।

फरासखाना, राणाकालीन सेतो भवन, त्रिभुवन स्मृति भवन र नौतले दरबारलगायतका ११ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनःनिर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ ।

यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनःनिर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर वाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनःनिर्माण भइरहेको छ । नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनःनिर्माण भइरहेको छ । आगम्छे र शिव मन्दिर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ । मोहनकाली चोक, मूलचोक, नासल चोकलगायतका चोक यहाँका अन्य महत्वपूर्ण सम्पदा हुन् । 

विगत तीन महिनाअघि पुनःनिर्माणका लागि आवश्यक पर्ने लामा काठको अभाव भएको भन्दै पुनःनिर्माणको काममा समस्या भएको थियो । अहिले आवश्यक पर्ने काठ आइपुगेको र आयातमा सहज भएपछि निर्माणको कामले पुनः गति लिएको हो । ठूला र लामा काठ अभावमा यस क्षेत्रको नौतले दरबार र दश अवतार मन्दिरको काम अवरुद्ध भएको थियो । अहिले ती दुवै सम्पदा निर्माणको काम तीव्ररूपमा भइरहेको छ । यी दुवै सम्पदा निर्माणका लागि १० फिटभन्दा लामा काठ आवश्यक परेको थियो ।

निर्माणको चरणमा रहेको ऐतिहासिक नौतले दरबारको निर्माणको काम ८० प्रतिशत र दश अवतार मन्दिरको ७० प्रतिशत काम सम्पन्न भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख खनालले जानकारी दिनुभयो । भूकम्पका कारण क्षति भएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खोलिने भएको छ । अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनःनिर्माण गरेको गद्दी बैठक विसं २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गर्नुभएको थियो ।

विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठककक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा विसं १९६५ मा वसन्तपुर दरबारमा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो ।

शुरुमा यो भवनमा विदेशी पाहुनासँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो । अहिले यसको प्रयोग राष्ट्र प्रमुखले जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्दा मात्र हुन्छ ।

काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा  

हनुमानढोका क्षेत्रको अर्को महत्वपूर्ण सम्पदाका रूपमा रहेको काष्ठमण्डप पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको कामअन्तर्गत अहिले ९० प्रतिशतभन्दा बढी काम सकिसकेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । अहिले छानो छाउने काम भइरहेको छ । छानाका लागि आवश्यक पर्ने केही अपुग काठ ल्याउने प्रक्रियामा रहेकाले निर्माणको काम केही बाँकी रहेको हो ।

यस सम्पदाको पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई आवश्यकतानुरूप रकम हस्तान्तरण गरिरहेको छ । पुनःनिर्माणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!