कतार र चीनको ग्वान्जाउमा हप्तामा एक पटक उडान गर्ने मन्त्रिपरिषद्को निर्णय

Posted on: 18 May, 2021

जेठ ४, काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतार र चीनमा हप्ताको एक पटक उडान गर्ने निर्णय गरेको हो ।

कतारमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान गर्दै आएको छ । चीनको ग्वान्जाउमा भने चार्टर्ड उडान मात्रै हुँदै आएको छ । सातामा एक–एक उडान गर्नगरी खुला गरिएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।

पछिल्लो समय निषेधाज्ञाको कारण अन्तर्राष्ट्रिय उडान बन्द भइरहेका बेला सरकारले स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि उडान खुला गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले बताए । सरकारले आवश्यकता हेरी अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउँदै लैजाने उनको भनाइ छ ।

निषेधाज्ञापछि आज सबैभन्दा धेरै अन्तर्राष्ट्रिय उडान

निषेधाज्ञापछि आज सबैभन्दा धेरै अन्तर्राष्ट्रिय उडान हुँदैछन्। त्रिभुवन विमानस्थलका अनुसार कार्गो र यात्रुवाहक चार्टर्ड उडानसहित ११ उडान हुँदैछन्। मंगलबार सबैभन्दा धेरै उडान हिमालय एयरलाइन्सले गर्दैछ। बिहानै चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाजले साउदी अरबको दमाममा ३ उडान गर्दैछ। त्योसँगै चीनको कुनमिङमै थप दुई उडान गर्नेछ।

त्यसैगरी नेपाल एयरलाइन्सले पनि ४ उडान गर्दै छ। दुई उडान चीनको बेइजिङमा र दुई उडान साउदी अरबको दमाममा गर्दैछ। हिमालय र नेपाल एयरलाइन्सले काठमाडौंबाट साउदी अरबमा भारतीय नागरिक बोकेर जान लागेका हुन्।

नेपालस्थित भारतीय दूतावासको अनुरोधमा नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सलाई १० वटा चार्टर्ड उडान अनुमति दिएको छ। जसले नेपालमा रहेका करिब २ हजार भारतीयलाई साउदी अरब लैजानेछन्। हिमालयले ३ उडान अनुमति पाएको छ भने नेपाल एयरलाइन्सले ७ वटा उडान अनुमति पाएको छ।

त्यसबाहेक आजै रसियन एयरलाइन्सले मस्को–काठमाडौं उडान गरी रसियन नागरिक काठमाडौंबाट लगेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!