राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र जेठ २५ गतेबाट बिक्री खुला हुने

Posted on: 02 Jun, 2021

जेठ १९, काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले यही जेठ २५ गते मंगलबार देखि ८.५ प्रतिशत ब्याज दिनेगरी आरबीबीएल डिबेञ्चर–२०८ नामक ऋणपत्रको बिक्री खुल्ला गर्ने भएको छ ।बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

ऋणपत्र प्रतिकित्ता १ हजार रुपैयाँका दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सो का लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल र निष्काशनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंकको आपसी सहमतिमा बिक्री वितरण गरिने छ ।

साथै, सर्वसाधारणका लागि छुट्याईएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारण नेपालीकालागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ । छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने केयर नेपाल एप्लस रेटिङ्ग प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट स्विकृत भएको विवरणपत्र बैंकको वेबसाइटमा समेत राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!