अमेरिकाद्वारा नेपाललाई कोरोना विरुद्धको खोप सहयोग गर्ने घोषणा

Posted on: 04 Jun, 2021

जेठ २१, काठमाडौँ | अमेरिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई खोप दिने घोषणा गरेको छ । यद्यपि नेपालका लागि कति डोज सहयोग दिने भन्नेबारे केही खुलाइएको छैन ।

यसअघि गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र पठाएर कोरोनाविरुद्धको खोप सहयोगका लागि आग्रह गरेकी थिइन् । 

अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको छ, जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकले प्राप्त गर्नेछन् ।


कोभ्याक्समार्फत वितरण हुने खोपमध्ये करिव ६० लाख ल्याटिन अमेरिका र क्यारेबियन देशमा जानेछ । बाँकी ७० लाख दक्षिण र दक्षिणपूर्वी एसिया तथा ५० लाख अफ्रिकामा जाने घोषणा गरिएको छ ।

एशियाका लागि छुट्याइएको ७० लाख डोज खोप नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुन्यूगिनी, ताइवान र एशिया प्यासिफिक आइल्याण्डलाई दिइने घोषणा गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उपलब्ध गराउने अमेरिकी निर्णयको स्वागत गरेका छन् । खोप उपलब्ध गराउन नेपालले गरेको आग्रहलाई सुनेको भन्दै उनले धन्यवाद दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!