नेपालगञ्जको बजेट रु डेढ अर्बः चक्रपथ निर्माणलाई प्राथमिकता

Posted on: 25 Jun, 2021

असार ११, नेपालगञ्ज (रासस)। नेपालगञ्ज उपमहानगरपालिकाले आज नवौँ नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा नेपालगञ्जमा चक्रपथ निर्माणलाई प्राथमिकतामा राखेको छ ।  नगरसभामा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२  बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । 

उपमहानगरपालिकाको कूल बजेटबाट नगरका २३ वडाका लागि रु २८ करोड विनियोजन गरिएको छ ।   नगरसभामा नगर प्रमुख डा धवलशम्शेर राणाले सम्पूर्ण वडा कार्यालयको भवन र वडा नम्बर ६ मा क्रिक्रेट रंगशाला निर्माण पनि नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको जनाउनुभयो । 

उक्त नीति तथा कार्यक्रममा नगरमा कालोपत्रे सडक र  नाला निर्माणलाई निरन्तरता दिइएको छ । यसैगरी नेपालगञ्ज सुर्खेतरोडको दायँबायाँ नाला नभएका स्थानमा व्यवस्थित पक्की नाला बनाउन आवश्यक पहल गरिने डा राणाले बताउनुभयो ।

यसैबीच बाँकेको डुडुवा गाउँपालिकामा आव २०७८।०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाको आज बसेको नवौँ गाउँसभाले दुई विधेयक, ७० बुंदे नीति तथा कार्यक्रम र रु  ६८ करोड ६३ लाख ११ हजार को बजेट सार्वजनिक गरेको हो । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले कोभिड– १९ लाई समेत लक्ष्य गरि शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत्, वन तथा वातावरण, विकासनिर्माणलगायत ३६ बँुंदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!