राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाउनेलाई कारवाही हुने, भ्रामक पोष्टमा विश्वास नगर्न आग्रह

Posted on: 01 Jul, 2021

असार १७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो नाममा फेसबुक पेज बनाई भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकोमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ । हालसम्म नेपाल राष्ट्र बैंकको कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको र कुनैपनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेज मार्फत नगरिएको राष्ट्र बैंकले जनाएको छ । 

अनधिकृतरुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । यसरी अनधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारवाही हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकको नाममा खोलिएका फेसबुक पेजहरुमा आफ्नो कुनैपनि सूचना प्रबिष्ट नगर्न सम्पूर्ण फेसबुक प्रयोगकर्ताहरुलाई राष्ट्र बैंकले अनुरोध गरेको छ । साथै यस्ता भ्रामक फेसबुक पोष्टमा विश्वास नगर्न सर्बसाधारणहरुलाई राष्ट्र बैंकले अपिल गरेको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!