६७.३४ प्रतिशत नेपाली बैंकिंङ्ग पहुँचमा, थप के के छन् राष्ट्र बैंकको पछिल्लो रिपोर्टमा ?

Posted on: 20 Aug, 2021

भदौ ४, काठमाडौँ । ६७ प्रतिशत बढी नागरिकमा बैंकिङ पहुँच पुगेको छ । शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले बैंकिङ्ग सेवा विस्तार भएर ६७.३४ प्रतिशत नेपालीहरुको पहुँचमा बैंक पुगेको बताएको हो ।

वित्तीय पहुँच सम्बन्धमा बैंकले हालै सम्पन्न गरेको एक अध्ययनको  प्रतिवेदन अनुसार निक्षेप खाता लगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणको आधारमा प्रतिवेदन तयार गरेको बैंकले इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाको शाखा संख्या २०७८ चैत मसान्तमा ५,९७८ पुगेको जनाएको छ । कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७५० तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको र सो मार्फत बैंकको निक्षेप खाता संख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता संख्या १६ लाख ८२ हजार ८४५ पुगेको बैंकले जनाएको छ ।

२०७७ जेठ मसान्तमा तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता र यसमध्ये नेपाली प्राकृतिक व्यक्तिको दुई करोड ९९ लाख २८ हजार ४३६ निक्षेप खाता रहेका छन् । तीन पुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तमा ६७.३४ प्रतिशत नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको बैंकले जनाएको छ ।

२०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०.९ प्रतिशत रहेको थियो । कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३.४८ प्रतिशत पाइएको छ । प्रतिहजार व्यक्ति ९९८ खाता रहेकोमा पुरुषको प्रतिहजार व्यक्ति १,३१४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६८७ खाता रहेका छन् । 

प्रदेशगत रूपमा सबैभन्दा बढी बाग्मती प्रदेशमा प्रतिहजार व्यक्ति १,८०२ र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४५८ खाता रहेको समेत बैंकले जनाएको छ ।यस्तो अवस्थामा महानगरमा प्रतिहजार व्यक्ति ३,२९६ र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति २५१ खाता रहेका छन् । कुल निक्षेप खातामध्ये ६७.७ प्रतिशत खाता सक्रिय रहेका छन् । पुरुषको खाता संख्यामध्ये ६५.२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२.३ प्रतिशत खाता सक्रिय रहेका छन् ।

ग्रामीण नगरपालिकामा ८१.५ प्रतिशत खाता सक्रिय रहेको पाइएको छ । प्राकृतिक व्यक्तिले खोलेका कुल निक्षेप खाता संख्यामा बचत निक्षेप खाताको हिस्सा ९०.६ प्रतिशत र मुद्दती निक्षेप खाताको हिस्सा ३.१ प्रतिशत रहेको छ । व्यक्तिगत खातामा ९६.१५ प्रतिशत हिस्सा वयस्क व्यक्ति (पन्ध्र वर्षभन्दा माथि) को रहेको छ ।

प्रति एक लाख जनसंख्यालाई सेवा पुर्याउने बैंकको शाखा संख्या औसतमा १८.९८ प्रतिशत रहेको छ । उक्त संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ र सबैभन्दा कम प्रदेश नं. २ मा ९.७३ प्रतिशत रहेको छ ।ग्रामीण क्षेत्रमा प्रति एक लाख जनसंख्यालाई सेवा पुर्याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८.५४ र महानगरपालिकामा ४५.७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।


डिजिटल प्रयोगमा आकर्षण

पछिल्ला दिनहरुमा आम नागरिकहरुमा बैंकको पहुँच बढेरगएसँगै डिजिटल प्रयोगमा समेत निकै आकर्षण बढ्दो रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सो अनुसार प्रविधिको प्रयोग अन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ताहरुको संख्या बढेर २०.३५ प्रतिशत पुगेको, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत पुगेको बैंकले जनाएको छ ।

प्रदेशगत यस्तो प्रयोग प्रतिखाता एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता बाग्मती प्रदेशमा सबैभन्दा बढी क्रमशः २६.११, ३३.१२ र ६.४० प्रतिशत रहेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा प्रतिखाता एटीएम प्रयोगकर्ता १४.५० प्रतिशत मात्र रहेको बैंकले जनाएको छ ।

यस्तै, प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता प्रदेश नं. २ मा सबैभन्दा कम २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत रहेको बैंकको तथ्याङ्कले देखाएको छ ।

महानगरमा प्रतिखाता एटीएम प्रयोगकर्ता २७.२८ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत रहेका छन् । गाउँपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १०.६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत रहेका छन् । प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा सबैभन्दा बढी ३३.३६ प्रतिशत रहेको देखिएको छ । उमेरगत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको बैंकको तथ्याङ्कले देखाएको छ । तर, युवा पुस्तामा प्रविधिको प्रयोग उच्च रहेको हुँदा आगामी दिनमा प्रविधिको माग र प्रयोग दिनानुदिन बढ्दै जाने देखिएको बैंकले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!