सरकारले दशैं तिहारलाई लक्षित गरी असोज १ गतेदेखि सस्तो पसल सञ्चालन गर्ने

Posted on: 06 Sep, 2021

भदौ २१, काठमाडौँ । सरकारले दशैं, तिहार छठ चाडपर्व नजिकिँदै गर्दा आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक सूचना जारी गर्दै चाडपर्वमा अत्यावश्यक उपभोग्य वस्तु सहज तथा सर्वसुलभ रुपमा उपलब्ध गराउनका लागि सुपथ मूल्य असोज १ गतेबाट छठपछिको १ हप्तासम्म सञ्चालन गर्ने भएको हो ।

मन्त्रिपरिषद्को कार्यालयले सरकारका मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा केन्द्रीय अनुगमन तथा मूल्यङ्कन समितिको वैठक बसेर सो निर्णय गरेको कार्यालयका प्रवक्ता कृष्ण बहादुर राउतले बताए । सो वैठकमा संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्य निकायहरूको समन्वयमा बिस्तृत कार्ययोजना बनाई १५ दिनभित्र पेश गर्ने निर्णय भएको छ ।

त्यसैगरी चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको भाडा दर, यात्रुसिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिसम्बन्धी स्वास्थ्य मापदण्डको पालना गरी सहज यात्रा व्यवस्थापन लगायतका कार्यहरू भौतिक र पूर्वाधार, यातायात मन्त्रालय र गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत् मिलाउनुका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुद्रा तहका व्यवसायीहरूलाई खोप लगाउने प्राथमिकतामा राख्ने भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!