तेह्रथुम पावरको आईपिओ बाँडफाँड, २२ लाख ८१ हजार आवेदकको हात खाली

Posted on: 10 Sep, 2021

भदौ २५, काठमाडौँ । तेह्रथुम पावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज शुक्रबार बिहान शेयर बाँडफांड गरेको हो । 

कम्पनीको आईपिओमा ३९.३४ गुणा बढीको आवेदन परेको थियो  । आईपिओमा २३ लाख ५५ हजार ४ सय ४७ जना आवेदकबाट २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको र २३ लाख ४६ हजार ६ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

क्यापिटलले योग्य रहेका २३ लाख ४६ हजार ६ सय २७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफांड गरेको छ। जस अनुसार गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २२ लाख ८१ हजार ४७ जना आवेदक हात खाली भएका छन् ।

कम्पनीले भदौ ९ गतेदेखि  सर्वसाधारणलाई शेयर खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ८ लाख कित्ता सेयर निष्काशन गरेको हो। जस मध्ये ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता शेयर सामुहिक म्युचुअल फण्डको लागि बाँडफांड गरिएको थियो भने २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर १६ हजार कित्ता कर्मचारीको लागि छुट्याईएको थियो। बाँकि रहेको ७ लाख ४४ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १० गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।  आयोजना प्रभावितहरुलाई ४ लाख कित्ता निष्काशन भएपछि सर्वसाधारणमा ८ लाख कित्ता सेयर बिक्रि गरेको हो । कम्पनीले तेह्रथुममा ७.५ मेगावाटको अपर थोरुंगा खोला आयोजना निर्माण सम्पन्न गरेको छ भने तेह्रथुम मै २ मेगावाटको अर्को आयोजना निर्माणको लागि सर्वेक्षण अनुमतिपत्र लिएको छ।

कम्पनीको अधिकृत पुंजी ४० करोड, जारि पुंजी ४० करोड र चुक्ता पुंजी २८ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ४० करोड पुग्ने छ । 






यस बिषयमा तपाइको प्रतिक्रिया...!