Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ चैत २५ गते, राति १:०६ बजे
कृषि गतिबिधी

व्यावसायिक स्याउ खेतीका लागि परीक्षण

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत २५, गोरखा (रासस) | उत्तरी गोरखाको धार्चे गाउँपालिकामा व्यावसायिकरूपमा स्याउ खेतीको विकासका लागि परीक्षण शुरु भएको छ । गाउँपालिकाले पालिकाभित्रका सातवटै वडामा सामूहिकरूपमा व्यावसायिक स्याउ खेती विकास गर्न पहिलो चरणमा एक हजार ४०० उन्नत जातका स्याउको बेर्ना वितरण गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशअन्तर्गतको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको सहयोगमा गाउँपालिकाभित्रका भूकम्पपीडितको जीविकोपाजर्नमा टेवा पुर्याउने उद्देश्यले स्याउ खेतीको विकासलाई अघि बढाउन लागिएको उहाँले बताउनुभयो । “अहिले सबै वडामा दुई–दुई सय दरले स्याउको बेर्ना वितरण गरेका छौं ”, अध्यक्ष गुरुङले भन्नुभयो, वितरण गरिएका बेर्ना रोप्ने काम शुरु भएको छ ।’

गाउँपालिकाले सवै वडामा सामूहिकरूपमा खेती गर्ने गरी स्याउको बेर्ना वितरण गरेको वडाध्यक्ष गुरुङको भनाइ छ । “दर्ता भएका सबै समूहलाई गाउँपालिकाले सूचीकृत गर्नेछ”, उहाँले भन्नुभयो, “पाएसम्म सार्वजनिक जग्गामा सामूहिक खेती शुरु गर्ने र सार्वजनिक जग्गा नभएमा भाडामा समूहले जग्गा लिएर भए पनि सामूहिकरुपमै खेती गर्नुपर्ने गरी गाउँपालिकाले कार्यविधि बनाएको छ ।”

प्रत्येक घरमा एउटा–एउटा स्याउका बेर्ना लगाउँदा त्यसको व्यावसायिक प्रवद्र्धन गर्न समस्या हुने भएकाले गाउँपालिकाले सामूहिक खेतीमा जोड दिएको उहाँको भनाइ छ । “वितरण गरिएको स्याउको एउटा बेर्नाको नर्सरीमै रु एक हजार ५०० परेको छ, उहाँले भन्नुभयो, यहाँ गाउँसम्म ल्याइपुर्याउँदा रु दुई हजार ५०० सम्म पुग्नसक्छ ।” वितरण गरिएको स्याउ रोप्नका लागि एक महीनादेखि नै खाल्डो खन्ने, मल राख्ने काम भइरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

एग्रो मनाङ नर्सरीमार्फत डाला, फुजी र गोल्डन जातका इटालीबाट झिकाएर वितरण गरिएको उक्त उन्नतजातको स्याउ एक वर्षभित्रमा फल दिनसक्ने खालको रहेको उहाँले बताउनुभयो । करीब दुई हजार मिटर उचाइको भूभागमा राम्रो हुनसक्ने भएकाले वितरण उन्नतजातको स्याउ धार्चेका सबै वडामा राम्रो उत्पादनको सम्भावना रहेको जानकारी दिनुभयो । 

वितरण गरिएको स्याउको बेर्नाले उत्पादन दिने भएकाले भूकम्पपीडितले छिटो आम्दानी गर्नसक्ने उहाँको भनाइ छ । एक वर्षभित्रमा हुने उत्पादनलाई आधार मानेर धार्चे गाउँपालिकालाई स्याउको पकेट क्षेत्रको रूपमा विकास गरेर लैजाने योजना गाउँपालिकाले बनाएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।