Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ असार ३१ गते, अपराह्न ३:५३ बजे
अर्थ/विकास

बडिगाडमा रोजगार कार्यक्रम प्रभावकारी

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

हेम विश्वकर्मा | असार ३१, बडिगाड (बाग्लुङ) | प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सडक नाली सफा गर्ने, झार उखेल्ने, बाँदर लखेट्ने लगायतका काममा खर्च गरिएको भन्दै यो कार्यक्रमको मजाक उडाइएको समाचार संचारमाध्यमहरुमा आइरहँदा बागलुङको बडिगाड गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । १० वटा वडा रहेको गाउँपालिकामा कतै गोरेटो बाटो सोलिङ गर्ने, कतै सिँचाइ कुलो मर्मत त कतै मलामीलाइ बिसाइ मेट्ने पौवा समेत निर्माण गरिएको छ । 

जसअन्तरगत वडा नं १ को तुम्डाडा स्थित मोटरबाटोको भलले काटेको ठाउँमा पर्खाल लगाइएको र २१ जनाले रोजगार पाएको वडा अध्यक्ष बोम बहादुर थापाले जानकारी दिनुभयो । यस्तै वडा नं २ मा रिठे राक्से सिंचाइ कुलो मर्मत गरिएको वडा अध्यक्ष हिमा खरेलले जानकारी दिनुभयो । 

यस्तै वडा नं ३, ५, ६, ७ र ९ मा मलामीहरुका लागि गर्मी बर्षातमा ओत लाग्ने पौवा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो । वडा नं ४ जलजलाले आख्रेनी लब्धीखोला गोरेटो बाटो सोलिङ्ग गरिएको वडा अध्यक्ष प्रेम गलामीले बताउनुभयो ।  यस्तै वडा नं १० ले तल्लो गाउँबाट माथिचौरसम्म, निगलपानीको फेँदी देखि तल्लो गाउँको केही भाग सम्म गोरेटो बाटो सोलिङ्ग  गरिएको वडा अध्यक्ष बिरेन्द्र बुढा मगरले जानकारी दिनुभयो । 

सरोजगार कार्यक्रमका लागि प्रत्यक वडा लाइ २ लाख ६० हजार बिनियोजन गरिएको प्रमुख प्रसासकिय अधिकृत प्रदिप चन्द्र सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाको १ नम्बर वडा देखि १० नं वडा सम्मका नागरिकले गाउँमै  रोजगारी पाएका हुन् । विदेश गएर फर्केका, एकल महिला तथा अन्य नागरिकले पनि रोजगारी पाएको बताइएको छ ।  दिनभरि खाली बस्दै आउनु परेको र  पैसा हातमा नभएका बेला सरकारले केही समयका लागि भए पनि जागिरको व्यवस्था मिलाइ दिएकोमा खुशी लागेको सिसाखानीका राजन थापाले बताउनुहन्छ । 

कार्यविधिले यो योजनाअन्तरगत स्थानीय तहका सडकहरुको नियमित मर्मत सम्भार, स्थानीय तहभित्रका वस्ती, स्वास्थ्य चौकी, विद्यालय, आर्थिक केन्द्र, हाटबजार, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल जोड्ने सडक निर्माण तथा मर्मत सम्भार गर्न सकिने व्यवस्था गरेको छ ।