स्थानीय र प्रहरीबीच भएको झडपमा महिला प्रहरीको मृत्यु : मोरङको लेटाङमा बिहानैदेखि कर्फ्यु

Posted on: 21 Mar, 2022

चैत ७, मोरङ । मोरङको लेटाङ ५ स्थित शिक्षा विकास माविका सामाजिक विषय पढाउने मनोज पौडेल नाम गरेका शिक्षकले सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक छात्रालाई जबरजस्ती करणी गरेको घटना बाहिर आएपछि भएको झडपलाई शान्त पार्ने क्रममा खटिएकी एक प्रहरी महिलाको मृत्यु भएपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ । 

घटना नियन्त्रणभन्दा बाहिर गएपछि स्थानीय प्रशासनले आज बिहान ७ बजेदेखि सो क्षेत्रमा कर्फ्यू लगाएको छ । आइतबार दिउँसोको झडपपछि स्थिति तनावपूर्ण बनेकाले लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा अर्को आदेश जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटांगको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको जनाएको छ । 

एक प्रहरी महिला जवानको मृत्यु हुनुका साथै करिब अढाइ दर्जन घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ । 

शिक्षकले विद्यार्थीमाथि करणी गरेको घटना बाहिर आएपछि हिजो दिनभर विद्यालय परिसर तनावग्रस्त बन्यो । अभिभावक तथा छिमेकी विद्यालयबाट गएका विद्यार्थीहरू समेतले पीडितको पक्षमा र पीडक शिक्षकको विरुद्धमा नाराबाजी गरेका थिए ।  

दोषी भनिएका शिक्षकलाई प्रहरीले सुरक्षा दिएर राखेको भन्दै आक्रोशित भीडले निजको मोटरसाइकल तथा विद्यालयमा समेत आगजनी गरेका ििथए । उक्त घटनामा झडप हुँदा एक प्रहरी महिलाको मृत्यु हुनुका साथै अढाइ दर्जन घाइते भएका हुन् । 

घटना अझैसम्म साम्य नभएसँगै जिल्ला प्रशासनले कर्फ्यू लगाएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!