Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८० बैसाख १६ गते, राति ३:५५ बजे
पत्रपत्रिकाबाट

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कुकुरको बिगबिगी

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १६, काठमाडौँ | मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोरसँगै कुकुर व्यवस्थापनमा समेत समस्या देखिएको छ। फोहोर व्यवस्थापनको समस्या करिब दुई हप्तादेखि देखिएको छ भने कुकुरको समस्या वर्षौंदेखिको हो। 

कुकुरका कारण विशिष्ट व्यक्तिको आगमनमा समस्या हुनुका साथै सवारीसाधनलाई लखेट्ने, सडकपेटीमै सुत्ने, जथाभाबी दिसा–पिसाब गरेर फोहोर गर्ने, सिंहदरबारभित्र फोहोर सङ्कलन तथा सरसफाइ गर्नेलाई टोक्न खोज्नेजस्ता समस्या देखिए पनि त्यसको व्यवस्थापनका लागि कुनै पनि निकाय जिम्मेवार र तत्पर देखिएका छैनन्। कुकुरले कतिपय मन्त्रालयका भर्याङमा दिसा गर्ने गरेका छन्।

सिंहदरबारभित्र रहेका कुकुरको यकिन तथ्याङ्क छैन। कुकुरलाई कुनै सङ्केत चिह्न नलगाइएकाले सङ्ख्या यकिन गर्न सकिँदैन। सिंहदरबारभित्र रहेका कुकुरको खानपान, औषधोपचारलगायतको व्यवस्थापन गर्ने गरिएको छैन। सिंहदरबारभित्रका चमेनागृह तथा खाजाघरका उब्रिएका र फालिएका खानेकुरा कुकुरका आहारा हुन्।

सिंहदरबारको पूर्वाधार निर्माण तथा व्यवस्थापनको जिम्मा पाएका सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी सुरेन्द्रकुमार शाहले सिंहदरबारभित्रका कुकुरको व्यवस्थापनसम्बन्धी सचिवालयमा कुनै बजेट तथा कार्यक्रम नरहेको बताए। उनले करिब २५० वटा कुकुर रहेको अनुमान गरिएको बताए।

उनका अनुसार बेला–बेलामा सिंहदरबारभित्रका कुकुरको बन्ध्याकरण तथा रेबिजको खोप लगाइए पनि भित्र–बाहिर आउजाउ गर्ने गरेकाले तिनीहरूको पहिचान गर्न सकिएको छैन। सिंहदरबारसहित महानगरपालिकाभरिका कुकुर व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९-८० मा ५० लाख रुपियाँ विनियोजन गरे पनि कुकुरको ‘फिडिङ जोन’ निर्धारण गरिएको देखिँदैन। काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार सधैँ बाहिर–भित्र गरिरहेकाले सिंहदरबारभित्रका कुकुरको सङ्ख्या यकिन गर्न सक्ने अवस्था छैन। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।