Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत ०३ गते, राति १:४७ बजे
काठमाडौँ - KTM

साउदी अरबका पूर्वराजदूत हमिद अन्सारीलाई जेल सजाय

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत ३, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका आफन्तले पाउने राहत रकममा भ्रष्टाचार गरेको अभियोग लागेका साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई सर्वोच्च अदालतले सात महिना जेल सजाय सुनाएको छ । पीडितले पाउने तीन लाख ९६ हजार रुपैयाँ लिनुखानु गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्सारीलाई सात महिना जेल सजायसहित तीन लाख ९६ हजार (२० हजार रियल) पीडितलाई क्षतिपूर्ति बापत भराउन र त्यति नै रकम जरिवाना हुने फैसला सुनाएको हो । पीडितको पक्षमा मंगलबार उक्त फैसला भएको थियो ।

साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका म्याग्दीका होमबहादुर पुनका परिवारले ‘इन्स्योरेन्स’ बापत पाउनुपर्ने ४७ हजार रियलमध्ये २७ हजार रियलको चेक मात्र पीडितलाई थमाएर अरू रकम आफैंले झिकेर बुझेको अभियोग अन्सारीविरुद्ध थियो । 

मृतक पुनका आफन्तले पहिलो किस्ताबापत २७ हजार र र दोस्रो किस्ताबापत २० हजार रियल पाउनुपर्ने थियो । साउदीस्थित नेपाली दूतावासमा ट्रान्सलेटर पदमा कार्यरत अहमद वी मुसाले उक्त इन्स्योरेन्स रकम बुझेर अन्सारीलाई दिएको दाबी अख्तियारको थियो ।

अख्तियारको छानबिनबाट अन्सारीले साउदी अरबको रियादस्थित कामदार कार्यरत कम्पनीले दिएको चेक बुझेको निक्र्योलसहित सुरुमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले २९ पुस ०७२ सालमा भ्रष्टाचार ठहर गरेपछि त्यसलाई उल्ट्याउन अन्सारी सर्वोच्च पुगेका थिए । – अन्नपूर्ण पोस्ट्