Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असार ०२ गते, बिहान ११:४१ बजे
पत्रपत्रिकाबाट

प्युठानमा गाउँपालिकाकि उम्मेदवार दुधे छोरा बोकेर भोट माग्दै

k By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार २, प्यूठान । दस महिनाको दुधे छोरा बोकेर झिमरुक गाउँपालिका-८ लिबाङ टिमुरचौर प्युठानकी देवा गिरी भोट माग्न मतदाताको घरघरमा पुग्नुभएको छ । दिनहुँजसो परिरहेको झरीमा पनि उहाँले मतदाता भेट्न छुटाउनुभएको छैन ।

एमालेका तर्फबाट उहाँ झिमरुक गाउँपालिकाको उपप्रमुख पदमा उम्मेदवार बन्नुभएको हो । ‘छोरालाई घरमै राखेर हिँड्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘दूध खुवाउनुपर्छ । सँगै लगेर हिँड्छु।’ छोराको रेखदेख गर्न धेरैजसो श्रीमान्लाई सँगै लगेर हिँड्ने गरे पनि कहिलेकाहीँ एक्लै जाने गरेको उहाँको भनाए छ । ‘छोरालाई हेर्न धेरै दिदीबहिनीले पनि सहयोग गर्छन्’, गिरीले भन्नुभयो, ‘पानी पर्दा अलि समस्या हुँदो रहेछ।’ गाउँपालिका केन्द्रदेखि झन्डै दुई घन्टाको दूरीमा उहाँको घर छ ।

‘गाउँमा नियमित गाडी चल्दैनन्’, उहाँले भन्नुभयो, ‘पैदल हिँडेर घरमा जान समस्या भइरहेको छ ।’ चुनाव प्रचारप्रसारमा हिँड्न थालेको महिना दिन पुग्न थालेको उहाँले बताउनुभयो। हालसम्म बांगेमरोठ, ओखरकोट, तुषारा, लिबाङ क्षेत्रका मतदातालाई भेटेर भोट मागिसकेको उहाँले बताउनुभयो। बर्खा सुरु भएकाले झिमरुक खोला तरेर घरसम्म पुग्न समस्या हुने गरेको समेत उहाँको भनाइ छ।

तीन सन्तानकी आमा गिरीको साथमा कान्छो छोरा अशोक गिरी छन्। दुईवटा छोरा हुर्किसकेको श्रीमान् रामु गिरीले बताउनुभयो। ‘ श्रीमती चुनाव लडेकी छन्’, उहाँले भन्नुभयो, ‘घरमा समय मिलाएर उनलाई साथ दिन सँगै हिँड्ने गरेको छु।’

श्रीमती भोट माग्न हिँडिरहेको बेला आफूले छोराको रेखदेख गर्ने गरेको उहाँले बताउनुभयो। ‘सानै उमेरदेखि पार्टीमा लागेकी हुन्’, गिरीले भन्नुभयो, ‘जसरी पनि जिताउने गरी खटेका छौँ।’

एमाले प्यूठान क्षेत्र नं २ को क्षेत्रीय कमिटी सदस्यसमेत रहनुभएकी गिरी २०५१ सालदेखि नै पार्टीमा लाग्नुभएको हो । 

घरेलु एवं महिला हिंसा, लैंगिक एवं जातीय विभेदजस्ता पक्षलाई निराकरण गर्न आफू क्रियाशील रहने उहाँको प्रतिबद्धता छ । विकास निर्माणका सवाललाई निर्वाचनमा विजयी भएपछि मात्र ठोस योजना बनाएर अघि बढ्ने उहाँको तयारी छ । -अन्नपुर्ण पोष्ट अनलाइनबाट