Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७९ फाल्गुण २१ गते, बिहान ६:२८ बजे
पत्रपत्रिकाबाट

८ दलीय गठबन्धनमा दलैपिच्छे उपप्रधानमन्त्री

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २१, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालका काँधमा यतिखेर १६ वटा मन्त्रालयको भारी छ। तर पनि उनी राष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार पुनर्गठनको तयारीमा छन्। बिहीबार काठमाडौंको तीनकुनेमा आयोजित आठ दलीय गठबन्धनका सांसदको अभिमुखीकरण कार्यक्रमपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार तुरुन्तै हुने बताएका थिए।

त्यस दिन जे भने पनि उनी राष्ट्रपतिको निर्वाचन कुरिरहेका छन्। राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ। राष्ट्रपति निर्वाचनअघि नै सरकार विस्तारका लागि निर्वाचन आयोगले स्वीकृति दिने तयारी गरे पनि प्रधानमन्त्री दाहालले सरकार पुनर्गठन त्यसअगाडि नहुने संकेत गरेका छन्। उनले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचनपछि नै लिन खोजेका छन्।

जहिले मन्त्रिपरिषद पुनर्गठन गरे पनि दाहालसामु दलहरूलाई कसरी समेट्ने भन्ने चुनौती खडा भएको छ। आठ दलीय गठबन्धनलाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने हुँदा उपप्रधानमन्त्रीको संख्या आठ जना पुग्ने सम्भावना देखिएको छ। पुस १० मा एमालेसहित सात दल सम्मिलित समीकरणमा ४ जना उपप्रधानमन्त्री थिए। 

अहिले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मात्रै उपप्रधानमन्त्री छन्। उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री पनि हुन्। आठ दलमध्ये माओवादी केन्द्रले यसअघि नै उपप्रधानमन्त्री लिइसकेकाले बाँकी सात दलले पनि उपप्रधानमन्त्री मागिरहेका छन्। 

आठ दलमध्ये नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई उपप्रधानमन्त्री दिनुपर्ने बाध्यता छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पनि उपप्रधानमन्त्री मागिरहेको बताइएको छ। यो समाचार नागरिक दैनिकमा छ ।