पँधेरोमा नुहाउन गएकी पद्माको हत्या भएको अवस्थामा शव फेला, प्रहरी घटनास्थलमा

Posted on: 27 Mar, 2024

चैत १४, पाल्पा । पाल्पामा एकजना युवतीको हत्या भएको छ। धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। रिब्दीकोट गाउँपालिका—१ ख्याहा काराम्दीकी १९ वर्षीया पद्मा सुनारको घाँटी रेटेर विभत्स हत्या गरिएको हो । 

पद्मा हिजो दिउँसो घरबाट केही टाढा रहेको पँधेरोमा नुहाउन गएकी थिइन् । उनी अबेरसम्म पनि घर नफर्किएकाले खोजी गर्ने क्रममा विभत्स तरिकाले घाँटी र हातमा काटेर हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनी स्थानीय शारदा माध्यमिक विद्यायलयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

एकान्त स्थानमा आफूमाथि बलात्कारको प्रयास हुँदा उनले प्रतिकार गर्दा हत्या भएको अनुमान स्थानीयले गरेका छन् । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पद्याको शवमा धारिलो हतियारले काटेका घाउहरू देखिएका छन्। घटना मंगलबार दिउँसो ४ बजे भएको हुन सक्ने अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठलेले घटनाबारे बुधबार बिहानैदेखि स्थलगत अनुसन्धान भइरहेको जानकारी दिए। ‘हामी हिजो राती मात्र घटनास्थलमा आइपुगेका छौँ, घटनास्थलमा कुकुर परिचालन गरिएको छ’, उनले भने।

डिएसपी श्रेष्ठले घटनाको प्रारम्भिक मुचुल्का तयार गरिसकेको र पीडित परिवारसँग छलफल भइरहेको घटनास्थलबाट जानकारी दिएका हुन। ‘बाँकी कुराहरू पोस्टमार्टमको रिपोर्टबाट पनि आउने छ’, उनले भने। 

डिएसपी श्रेष्ठका अनुसार घटनास्थल पाल्पा सदरमुकाम तानसेनबाट गाडीमा डेढ घन्टाको दूरीमा पर्छ। घटनाको जानकारी मंगलबार ५ बजे जिल्ला प्रहरी कार्यालयमा आएको र प्रहरी टोली त्यहाँ पुग्दा अँध्यारो भइसकेकाले बुधबार बिहानैदेखि अनुसन्धान भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!