Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

मुलुकको समृद्धिका लागि सबै मिलेर संविधान कार्यान्वयन गर्नुपर्छः प्रधानमन्त्री दाहाल

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै ठूलो जटिलतालाई पार गरेर जारी गरिएको संविधान सबै मिलेर कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । 

तेहौँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा ज्यापू संस्कृति विकास कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो – संविधान संशोधन प्रस्तावले निर्वाचनको वातावरण बनाएको छ । 

प्रधानमन्त्री दाहालले मधेस, पहाड र तराईका जनताको स्वीकार्यलाई बढाएर देशको एकतालाई बलियो बनाउन सकिने बताउँदै “तीन दलबीच आज छलफल भएको छ, अब केही दिनभित्र चुनावको मिति घोषणा गर्ने र संविधान संशोधन कार्यलाई टुङ्गोमा पु¥याउन सबै सकारात्मक छौँ भन्नुभयो ।” 

पुनःनिर्माणका काम अगाडि बढाउन लाग्दालाग्दै पनि सन्तोषजनक हुन नसकेको स्वीकार्दै उहाँले भन्नुभयो, “ मुलुकको समृद्धिका लागि सबै मिलेर संविधान कार्यान्वयन गर्नुपर्छ ।” 

प्रधानमन्त्री दाहालले मुलुकको पहिचानमा ज्यापु समुदायको सभ्यता र संस्कृतिले महत्वपूर्ण योगदान दिएको बताउँदै मौलिक पर्वका रुपमा स्थापित भएका सबै संस्कृतिलाई जोगाउनका लागि नयाँ पुस्ता त्यसतर्फ आकर्षित हुनुपर्ने छ भन्नुभयो । ज्यापू संस्कृति विकास कोषलाई रू १५ लाख उपलब्ध गराउने घोषणा पनि उहाँले गर्नुभयो । 

प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रियस्तरमा सम्मानित ननिता महर्जनलाई राष्ट्रियस्तरमा सम्मान गर्ने प्रतिबद्धता जनाउँदै विभेदमा परेकाको हितका लागि सरकार क्रियाशील रहेको बताउनुभयो । 

कोषका संरक्षक तीर्थराम डङ्गोलले कोषमा रकम वृद्धि र खेलाडी महर्जनलाई सम्मानका लागि आग्रह गर्दै ज्यापू भनेको किसान हो, राष्ट्रको गौरव पनि हो भन्नुभयो । 

उहाँले काठमाडौँ उपत्यकामा ज्यापूका अधिकांश घर भूकम्पमा परी उनीहरुले दुःख पाइरहेकाले पुनःनिर्माणका कार्य छिट्टो गर्न सरकारसंग आग्रह गर्नुभयो । 

कोषका अध्यक्ष मङ्गलसिंह महर्जनले ज्यापू दिवसको महत्व क्रमिक रुपमा बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । सो अवसरमा विभिन्न क्षेत्रबाट समाजको विकासमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मान गरिएको थियो । 

यसअघि सो समूदायले विभिन्न टोल तथा स्थानबाट बाजागाजा, झाँकीसहित पदयात्रा गरेका थिए । काठमाडौँ उपत्यकाका कृषक ज्यापू संस्कृतिको महत्वपूर्ण मौलिक चाडका रुपमा आज यमरी पकाएर खाने चलन छ । आजको दिनलाई यमरी पुन्हीसमेत भनिन्छ ।