पढ्न करिब 2 मिनेट लाग्छ

मङ्सिर २७, काठमाडौँ | बजेट खर्चको विषयलाई लिएर भएको विवादमा पोखरा महानगरपालिका– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की जिल्ला अदालतले कैद र जरिवाना फैसला गरेको छ ।

वडाध्यक्ष र सदस्यबीच विवाद हुँदा अदालतले गत ७ मंसिरमा अधिकारीलाई चार महिना १५ दिन कैद, ७५ हजार रुपैयाँ जरिवानासँगै पीडित वडासदस्यलाई १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

वडामा लक्षित समूहका लागि पाँच लाख बजेट आएकोमा सोमध्ये वडाले महिलाका लागि चार लाख र दलितका लागि एक लाख रुपैयाँ विनियोजन गरेको थियो । दलितका लागि विनियोजन भएको रकमबाट १८ पुस ०७९ मा हस्तकला तालिम उद्घाटन गरेपछि वडाध्यक्ष अधिकारी र दलित महिला वडासदस्य मैया नेपालीबीच विवाद भएको थियो ।

सदस्य नेपालीले वडाध्यक्ष अधिकारीले आफूलाई ‘वडासदस्य भएँ भनेर फुर्ती नगर, तेरो तीन पुस्ता मेरो घरको जुठोपुरो खाएर काम गरेर बाँचेका हौ, आफ्नो हैसियत हेर, तैँले पाउने तलब मैले मेरो घरमा काम गर्ने नोकरलाई दिन्छु, मसँग टक्कर नगर र वडाको बजेटमा आँखासमेत नलगा भन्दै मरेको गाई, भैँसीका सिनो लुछेजस्तो बजेटलाई लुछ्न नखोज, तिमीहरू कामी, दमाईं, सार्कीको हैसियत भनेको मागेर, थापेर खाने हो’ भन्दै तथानाम गाली गरेको बताइन्

वडाध्यक्ष अधिकारीले आफूलाई पटक–पटक विभेदजन्य व्यवहारसँगै विभेदजन्य शब्द प्रयोग गरेर अपमान र दुर्व्यवहार गरेको भन्दै २४ पुस ०७९ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेकी थिइन् । त्यसपछि २६ पुसमा वडाध्यक्ष अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।