महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध अपहरणको उजुरी दर्ता

Posted on: 04 May, 2020

वैशाख २२, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवलाई अपहरणसम्बन्धी कसूरमा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको छ ।

उनीहरु विरुद्धको जाहेरी सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको हो । जाहेरीको दर्ता नम्बर १०४७ रहेको छ । 

यादव अपहरण प्रकरणको उजुरी काठमाडौं प्रहरीले लिन नपाएपछि जनता समाजवादी पार्टीका नेताहरु वैशाख १६ गते सरकारी वकीलको कार्यालय पुगेका थिए । तर सरकारी कार्यालयका अधिकारीले जाहेरी अध्ययनका लागि भन्दै छाडेर जानका लागि भनेका थिए । 

नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सांसद चौधरीको अपहरण गरेको जसपाको दावी छ । 

पार्टी फुटाउने योजनासहित जनकपुरबाट यादवलाई अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएपनि डा यादव उक्त होटलबाट फुत्किएको दावी गरिएको छ । 

अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउनेछ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!