बाजुरामा नगरपालिकाबाटै सुत्केरी भत्ता गायब

Posted on: 29 Aug, 2019

भदौ १२, बाजुरा । संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ । एकयस ८८लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ ।

आर्थिक वर्र्ष २०७५/०७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराए वापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित शाखाका पदाधिकारीले नै दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको हो । दुर्गम पहाडी क्षेत्रका महिलाले संस्थागत सुत्केरी गराएवापत पाउने ३ हजार र नियमति चारपटक गर्भ जाँचवापतको २ सयका दरले ८ सय गरी ३ हजार ८ सयसहित न्यानो झोला पाउने व्यवस्था गरिएको थियो ।

गत चैत १ गते सुत्केरी गराए पनि आफूले उक्त भत्ता नपाएको पाण्डुसैनकी बिउरा रावलले बताए । उक्त नगरपालिकामा मात्रै १ सय ८८ महिलाले सुत्केरी गराए वापतको रकम पाएका छैनन् । तीमध्ये कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय ३६, पाण्डुसैन स्वास्थ्यचौकीमा ३४ र बाँधु स्वास्थ्यचौकीमा १८ ले सो भत्ता नपाएका हुन् । उक्त रकम नगरपालिकामा आइसके पनि स्वास्थ्य संयोजकसहितको टोलीले खबर नगरेको आरोप सम्बन्धित स्वास्थ्यचौकीले नै लगाएका थिए ।

सोही नगरपालिका–८ की आरती धामीले पनि उक्त भत्ता नपाएको गुनासो गरे । स्वास्थ्य शाखामा काम गर्नेहरुले माथिबाटै पैसा नआएको भनेकाले आफूहरुले पनि त्यही होला भन्ने सोचेर बसेको पाण्डुसैन स्वास्थ्यचौकीका इन्चार्ज नृपराज गिरीले बताए । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट १ सय ५४ ले सो भत्ता लिएको देखिए पनि अन्य कुनै पनि सुत्केरीले पाएका छैनन् । स्वास्थ्य संयोजककै लापरवाहीले उक्त भत्ता नपाइएको अधिकांशको गुनासो थियो । संयोजक जसी लुहारले भने सबैलाई पुग्ने गरी रकम नआएकाले आधा पैसा नबाँडेको बताए । कतिलाई सो भत्ता दिन बाँकी छ भन्दा उनले नै अपुग सङ्ख्याबारे जानकारी नभएको उल्लेख गरे ।

संयोजक लुहारले १३ लाख ५० हजार रुपैयाँ मात्र आएको बताए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बुझ्दा भने त्योभन्दा थप १५ लाख रुपैयाँ नगरपालिकामा पठाइ सकिएको जनाइएको थियो । मन्त्रालयका योजना शाखा प्रमुख सूर्य खड्काले भने पहिलोपटक १३ लाख ५० हजार, दोस्रोपटक ८ लाख ९० हजार र तेस्रोपटक जेठ १७ गते ८ लाख ९० हजार गरी कूल २८ लाख ५० हजार रुपैयाँ उक्त नगरपालिकामा मात्र पठाइएको जानकारी दिए । नगरपालिकाका पदाधिकारी तथा स्वास्थ्य संयोजले भने यसबारे कुनै जवाफ दिएनन् । प्रदेशको सम्बन्धित मन्त्रालयले असारमै उक्त भत्ता कम भए माग गर्न स्थानीय तहलाई सूचित गरेकामा कसैले पनि माग नगरेको बताइएको थियो ।

उक्त नगरपालिका उपप्रमुख सृष्टी रेग्मीले पनि आफूलाई थप पैसा आएकोबारे जानकारी नभएको र संयोजकले पैसा अपुग भएर नदिएको भन्ने मात्र खबर गरेको बताए । नगरपालिका निमित्त प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले आफूहरुलाई पैसा अपुग रहेको जानकारी मात्र गराइएको थप पैसा आए/नआएको थाहा नभएको जानकारी दिए । सुत्केरी भत्ता त्रिवेणी नगरपालिकाका ७७ र खप्तड छेडेदहका ३० जनाले नपाएको बताइएको थियो । 

बूढीगङ्गा नगरपालिकाले थप भत्ता माग गरेकामा रु चार लाख खर्च नभएपछि फिर्ता पठाइएको त्यहाँका स्वास्थ्य संयोजक दीपक शाहले जानकारी दिए । बडीमालिका नगरपालिका र हिमाली गाउँपालिकाका सबै सुत्केरी महिलाले भने उक्त भत्ता पाइसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!