साझाको यो निर्णय फेरियो, अब के गर्दै छ साझा ?

Posted on: 05 Oct, 2017

असोज १९, काठमाडौं । साझा यातायातले यसघि १३ वटा डिलक्स बस ल्याउन गरेको निर्णय फेरिएको छ । काठमाडौं र ललितपुर महानगरपालिले साझालाई उपत्यकाभित्रै चलाउने गरी सिटीबस ल्याउन भनेपछि योजना परिवर्तन भएको बताइएको छ ।

अब साझा यातायातले २० वटा सिटी बस र एउटा सेमी-लो फ्लोर बस ल्याउने भएको छ । यससँगै थोरै संख्यामा डिलक्स बस ल्याउने तयारी भएपनि संख्या निक्र्योल हुन बाँकी रहेको साझा यातायातले जनाएको छ । 

बस ल्याउन काठमाडौं महानगरले पाँच करोड र ललितपुर महानगरले एक करोड रुपैयाँको दिइसकेको छ । दुबै महानगरपालिकाले यो रकम साझा यातायात प्रालीमा शेयरका रुपमा लगानी गरेका हुन् ।

यसअघि काठमाडौं महानगरले १० करोड दिएपछि साझाले ३० वटा बस भित्र्याएको थियो, जुन काठमाडौंका विभिन्न रुटमा चलिरहेका छन् ।

पछिल्लो पटक साझाले डिलक्स बस चाहेको थियो । तर, रकम दिने दुबै महानगरपालिकाले आफूले किनेको शेयरको रकमबाट डिलक्स बस नल्याउन आग्रह गरेपछि नयाँ निर्णय लिइएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

अब आउने सिटी बसहरु पनि अपांगमैत्री हुनेछन्, जसमा दुईवटा फरकिला ढोका हुनेछन् । बसको पछिल्लो भागको ढोकाबाट ह्वील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न र ओर्लन सक्नेछन् ।  

यस्तै साझाले यसपटक एउटा विशेष किसिमको शहरी बस किनेर काठमाडौं उपत्यकामा परीक्षण गर्ने योजना पनि बनाएको छ । लो फ्लोरको ग्राउण्ड क्लेयरेन्स एकदमै कम हुन्छ । त्यसैले एकदमै मिलेको र सम्म सडकमा मात्र यो बस चल्छ । यो बस समान्यभन्दा बढी महंगो हुने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!