मलेसियाबाट फर्किएका युवाको संयुक्त लगानीमा रिंगरोडमा बस चल्ने

Posted on: 14 Jan, 2019

पुस ३०, काठमाडौं । मलेसियाबाट फर्किएका र मलेसियामै रहेर रोजगरी गरिरहेकाहरुको संयुक्त लगानीमा काठमाडौंमा सार्वजनिक यातायात कम्पनी खुल्ने भएको छ । मलेसिया रिटर्नी समाज गठन गरेका युवाले कम्पनी नै खोलेर सामूहिक लगानीमा यातायात व्यवसाय गर्ने निधो गरेका हुन् ।

समाजका सदस्य विनोद बस्नेतका अनुसार पहिलो चरणमा रिंगरोडमा ३ वटा सञ्चालन गर्न लागिएको छ । ३ वटा ३२ सिटे बसहरु किनेर सेवाको सुरुआत गर्ने योजनसहित लगानी जुटाउन थालिएको छ ।

युवाहरुले मलेसियबाट फर्किएका र मलेसियामा रहेका कामदारको परिवारले कम्पनीमा सेयर राख्न पाउने गरी व्यवसायिक योजना बनाएका छन् । यो लगानीबाट आएकोप्रतिफल पनि सामूहिक रुपमा वितरण गर्ने र युवाहरुलाई देशभित्रै बसेर उद्योग–व्यवसाय गर्न उत्प्रेरित गर्ने योजना बनाइएको छ ।


नेपालमा विदेशबाट फर्किएका युवा संस्थामार्फत संगठित भएर ठूलो स्केलमा लगानी जुटाउन खोजेको यो नै पहिलोपटक हो । यसअघि कोरियाबाट फर्किएका केही युवाले पनि यस्तो प्रयास गरेका थिए ।

तर, मलेसिया रिटर्नी समाजले अरु सदस्य पनि थप्ने गरी अम मलेसियामा रहेका नेपालीको परिवार र त्यहाँबाट फर्किएका कामदारलाई लगानीका क्षेत्रमा समेट्न खोजेको छ ।

यो संस्थाका पहलमा हालै काठमाडौंमा मलेसियाबाट फर्किएका युवाले नयाँ रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन् । सिंहदरबारको पूर्वी गेटमा सञ्चालनमा आएको सहयात्रा रेस्टुरेन्टपछि युवाहरु सार्वजनिक यातायातको व्यवसायमा संलग्न हुन खोजेका हुन् ।

‘कति विदेश मात्रै जानु भनेर सामूहिक रुपमा लगानी जुटाएर काम थाल्दैछौं,’ बस्नेतले भने,‘यसले सबैलाई उचित प्रतिफल दिन्छ र देशलाई पनि फाइदा हुन्छ भन्ने हाम्रो विश्वास हो ।’

पछिल्लो सयममा मलेसियाको रोजगारी बन्द छ । मलेसियामा रोजगारी बन्द भएपछि कतिपय युवा त्यहाँ जान छट्पपटाइरहेका छन् । तर, त्यहाँबाटै फर्किएका युवा भने देशभभित्रै केही गर्ने भनेर तम्सिएका हुन् ।

‘हामीले विदेशमा केही पैस, सीप र अनुभव कमाएका छौं । त्यसलाई यहाँ उपयोगद गरौं भन्ने योजना हो,’ बस्नेत भन्छन्,‘सरकारको उचित सहयोग भए अझ धेरै गर्न सकिन्छ होला ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!