म्यानपावर तथा अभिमुखिकरण संस्थाहरुलाई बायोमेट्रिकमा किर्तेको अभियोग ! (भिडियो सहित)

Posted on: 28 Apr, 2021

वैशाख १५, काठमाडौँ | वैदेशिक रोजगारमा जाने कामदारहरुलाई अभिमुखिकरण तालिमको क्रममा सेटिङ गराएर तालिमनै नगराई वैदेशिक रोजगारमा पठाउने गरेको पाइएको छ । यसैलाई नियमन गर्न वैदेशिक रोजगार बिभागले गत आइतबारदेखि बिमानस्थलमा बायोमेट्रिक अनिवार्य गरिसकेको छ ।


वैदेशिक रोजगार बिभागले उपत्यका र उपत्यका बाहिर गरेको अभिमुखिकरण गर्ने संस्थाहरुको अनुगमनको क्रममा म्यानपावर तथा एजेन्टहरुको आग्रहमा अभिमुखिकरण तालिम दिने संस्थाहरुले वैदेशिक रोजगारमा जान लागेका कामदारहरुलाई अभिमुखिकरण तालिममा सहभागी नगराई प्रमाणपत्र दिने गरेको र बायोमेट्रीक समेत किर्ते गर्ने गरेको पाइएको थियो । बिभागका अनुगमन अधिकारी मात्रिका सापकोटाका अन्सुआर कतिपय अभिमुखिकरण संस्थामा आवद्ध कर्मचारीले आफैले अरुको बायोमेट्रिक गरिदिने गरेको समेत पाइएको छ । त्यस्तै कतिपयले खेताला खोजेर समेत अरुको किर्ते बायोमेट्रिक गरिदिने गरेको तथा तालिममा सहभागी हुने काम गरिरहेको पाइएको थियो। 

बिभागबाट बिमानस्थलमा बायोमेट्रिक कार्यान्वयनको लागि खटिएका साखा अधिकृत तिर्थराज कटेलका अनुसार सरकारी प्रयोजनको लागि भइरहेको बायोमेट्रिकमा किर्ते काम भईरहेको छ । उनका अनुसार एकै व्यक्तिले हजारौं जना कामदारको बायोमेट्रिक गरिदिने गरेको र अडिटको क्रममा एकै औंलाले कयौंको बायोमेट्रिक गरेको भेटिदा सरकारी किर्तेको अभियोग लगाएर कानुनी कारवाहीमा तान्न सकिन्छ ।

बिभागको सिस्टममा एकै औंलाको रेकर्ड कयौंको बायोमेट्रिकमा म्याच हुँदा वास्तविक वैदेशिक रोजगारमा जानेको बायोमेट्रिक एयरपोर्टमा म्याच हुँदैन । अहिले बिमानस्थलमा वैदेशिक रोजगारको क्रममा पुगेकाहरुको बायोमेट्रिक भेरिफाइ गर्दा नभेटिए कुन-कुन म्यानपावर वा अभिमुखिकरण संस्थाबाट वैदेशिक रोजगारमा जानेहरुमा त्यस्तो समस्या देखिएको छ भन्नेबारे विवरणहरु संकलन भईरहेको छ । उक्त विवरणबाट सहजै सेटिङमा चलेकाहरुको पहिचान हुने बिभागले जनाएको छ । 

यसै सम्बन्धमा साझा सबाल मिडियाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पुगेर स्थलगत भिडियो तयार पारेको छ: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!