नुवाकोटलाई प्रदेश नं ३ को राजधानी बनाउनुपर्नेमा माग

Posted on: 11 Mar, 2018

फागुन २७, काठमाडौँ (रासस) | नुवाकोट सरोकार समाजले प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा माग गरेको छ । 

समाजले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी मल्लकालमा साततले दरबार मुलुककै राजधानी भएको ऐतिहासिक तथ्यलाई उजागर गर्दै प्रदेश नं ३ को राजाधानी नुवाकोटलाई बनाउनुपर्ने माग गरेको हो । 

समाजका अध्यक्ष रामलाल श्रेष्ठले राजधानी बनाउनका लागि जल, जमिन, वातावरण र भवन पर्याप्त मात्रा भएको र नुवाकोट छहरे–टोखा सुरुङ मार्गकोसमेत सम्भाव्यता अध्ययन भएको अवस्थामा राजधानी बनाउन उपयुक्त हुने बताउनुभयो । 

नुवाकोटबाट निर्वाचत प्रदेशसभा सदस्य केशव पाण्डे, बद्री मैनालीले यसबारेमा पार्टीभित्र बहस भइरहेको र विकल्पका रुपमा काभ्रे वा नुवाकोट राजधानी बनाउनुपर्ने विचार राख्दै तीव्ररुपमा आर्थिक विकास भएको काभ्रेलाई भन्दा नुवाकोटलाई राजधानी बनाउन उपयुक्त हुने सुझाव राख्नुभयो । 

काठमाडौँबाट नुवाकोट जोड्ने तीन मार्ग बालाजु–ककनी हुँदै त्रिशूली, छहरे टोखा हुँदै त्रिशूली, कलंकी गल्छी हुँदै त्रिशूली मार्गको विस्तार भइरहेको र केरुङ र भारतको सीमा ठोरी नाका नुवाकोटबाटै जोडिने हुनाले राजधानी उपयुक्त हुने धारणा राख्नुभयो । 

सो अवसरमा नुवाकोटको भौगोलिक, ऐतिहासिक चीजलाई समेटेर बनाइएको वृत्तचित्रसमेत प्रदर्शनी गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!