प्रदेश ५ मा कसको तलब कति ? तीन विधेयक प्रदेशसभामा प्रस्तुत हुँदै

Posted on: 18 Apr, 2018

वैशाख ५ , बुटवल |  प्रदेश नं ५ को आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन वटा विधेयक प्रदेशसभा बैठकमा पेश गर्न स्वीकृत गरेको छ । 

बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरी प्रदेशसभा बैठकमा पेश गर्ने निर्णय गरेको उद्योग तथा पर्यटन मन्त्री लीला गिरीले जानकारी दिनुभयो । 

उक्त विधेयक यही वैशाख १२ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ । 

त्यस्तै बैठकले मुख्यमन्त्रीको रु ६० हजार ९७०, मन्त्रीको रु ५२ हजार, राज्यमन्त्रीको रु ४९ हजार र सहायक मन्त्रीको रु ४७ हजार पारिश्रमिक विधेयकमा प्रस्ताव गरेको बैठकपछि मन्त्री गिरीले जानकारी दिनुभयो । 

त्यस्तै प्रदेशसभाका सदस्यसहित सभामुख, उपसभामुखको पनि पारिश्रमिक सिफारिश गरिएको छ । सभामुखको रु ५३ हजार र उपसभामुखको रु ५० हजार पारिश्रमिक हुने विधेयकमा प्रस्ताव गरिएको छ । 

त्यस्तै प्रदेश सचेतकका लागि रु ४८ हजार र प्रदेशसभा सदस्यको रु ४५ हजार पारिश्रमिक प्रस्ताव गरिएको छ । 

बैठकले प्रदेशसभा सचिवालय गठनसम्बन्धी विधेयकसमेत मन्त्रिपरिषद्बाट स्वीकृत गरी प्रदेशसभामा पठाउने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो । सचिवालयमा सभामुख, उपसभामुख, सभाको सचिव सदस्य र प्रदेशसभाको सचिवले तोकेको सभाको वरिष्ठतम् अधिकारीलाई सदस्यसचिव तोक्नसक्ने व्यवस्था विधेयकमा गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!