भगवती च्यालेन्ज कपको उपाधि लुङछातालाई

Posted on: 12 Nov, 2016

प्रकाश धौलाकोटी/कात्तिक २७, तेह्रथुम । तिहारको अवसरमा छातेढुंगामा लागेको दिपावली मेलामा सञ्चालित भगवती च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि लुङछाता सामुदायिक संस्था छातेढुंगाले जितेको छ । 

साविक विजेता आठराई मितेरी युवा क्लब सक्रान्तिबजारसँगको खेलमा ० का विरुद्ध १ गोल गर्दै लुङछाताले उपाधि चुमेको हो । स्थानीय पोखरी उच्च माविको खेलमैदानमा भएको खेलमा मितेरीले अधिकांश समय लुङछातालाई दबाबमा राखेपनि खेलको १५ औं मिनेटमा लुङछाताले गरेको गोल नै निर्णायक बनेको थियो । 

उपाधिसँगै लुङछाताले नगद १ लाख १ सय ११ रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र पाएको छ । हारसँगै उपविजेतामै चित्त बुझाउन बाध्य बनेको मितेरीले नगद ५० हजार १ सय ११ रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । प्रतियोगितामा पुर्वाञ्चलका उत्कृष्ट खेलाडी सम्मिलित १९ टिम सहभागी थिए । 

यस्तै मेलाकै अवसरमा आयोजित महिला भलिबलको उपाधि साविक विजेता चम्किलो तारा युवा क्लब ईवाले जितेको छ । उसले पोमु केछाङ युवा क्लब निगुरादिन ताप्लेजुङलाई पराजित गरेर उपाधिसँगै नगद ३० हजार, कप, मेडल र प्रमाण पत्र पाएको हो । उपविजेता बनेको पोमुकेछाङले नगद २० हजार, कप, मेडल र प्रमाण पत्रमा चित्त बुझाउन बाध्य बनेको छ ।

यस्तै भलिबल प्रतियोगिताको उपाधि मेहरमान स्मृति प्रतिष्ठान झापाले जितेको छ । फाइनलमा युनिभर्सल युवा क्लब ईवालाई पराजित गर्दै उपाधि चुमेको हो । विजयी मेहरमान स्मृति प्रतिष्ठानले नगद ३० हजार पाएको छ भने उपविजेता बनेको युनिभर्सलले नगद २० हजार रुपैयाँ पाएको छ । 

समापन समारोहमा पुरस्कार वितरण गर्दै कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगाना र एमाले जिल्ला उपाध्यक्ष सन्जय तुम्बाहाम्फेले यो मेला सन्चालनले यस क्षेत्रको खेलकुद विकाससँगै पर्यटन प्रवर्धनमा उल्लेख्य योगदान गर्दै आएको धारणा राख्नुभयो । ०३९ सालदेखि छातेढुंगामा निरन्तर रुपमा लाग्दै आएको मेला कात्तिक १८ गतेबाट सुरु भएर शुक्रबार सकिएको हो ।

 मेला मानव कल्याणकारी सेवा केन्द्र छातेढुंगाले हरेकवर्ष आयोजना गर्ने गरेको छ । मेला ०४५ सालतिर पाँचथर अमरपुरका रामकुमार लिङदेन परिवारले दुई लाख रुपैयाँ राशीको अक्षयकोष स्थापना गरिदिएपछि मेला निरन्तर सञ्चालन हुँदै आएको छ ।

्तर स्थानीय श्रोत कमजोर हुँदा मेला निरन्तरताकालागि समस्या हुने गरेको आयोजक दीपावली मेला समिति खेलकुद समिति अध्यक्ष तेजमान कन्दङवाले बताउनुभयो । समापन समारोह मेला समिति अध्यक्ष केशरमान कन्दङवाको अध्यक्षतामा सम्पन्न भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!