कैँजलेका महिला आफैँले बाल कक्षा चलाउने

Posted on: 18 Nov, 2016

प्रकाश धौलाकोटी । मंसिर ३, तेह्रथुम । तेह्रथुमको ईवा–३ स्थित कैँजलेका महिलाहरु आफैँले गाउँमा बाल कक्षा सन्चालन गर्ने भएका छन् । गाउँबाट विद्यालय टाढा हुँदा विद्यालय गएर आउन नसक्ने कम उमेर भएका तथा पढाईमा कमजोर बालबालिकालाई लक्षित गरेर महिलाहरुले बाल कक्षा सन्चालन गर्ने भएका हुन् । 

यो वडामा एउटापनि विद्यालय छैन । यहाँ सरकारी स्तरको बाल कक्षा समेत नहुँदा विद्यालय जाने उमेरका बालबालिका विद्यालय जानबाट बञ्चित थिए । देउराली सोसाइटी नामक जिल्लाको गैरसरकारी संस्थाको सहजीकरणमा सन्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत गठित कैँजले अभियान चौतारीमा आवद्ध आमाहरुले बाल कक्षा चलाउने निर्णय गरेका हुन् । 

अभियान चौतारीमा विद्यालय टाढा हुँदा नानीहरुको पढाई प्रभावित भएको समस्यामाथि छलफल भएपछि बाल कक्षा सन्चालन गर्ने निर्णय भएको अध्यक्ष रिता तामाङले बताउनुभयो । अब मंसिर ६ गतेबाट प्रत्येक दिन विहान ६ बजेबाट ९ बजेसम्म सन्चालन हुने बाल कक्षामा गाउँका ३ वर्षदेखि ७ वर्ष सम्मका बालबालिकाहरु सहभागी हुनेछन् । बाल कक्षामा सो उमेर समूहका गाउँमा रहेका १७ जना बालबालिका सहभागी हुने र उनीहरुलाई सिकाउन र हेर्नकालागि एक जना हेरालु राखिने सामाजिक परिचालक शनिशा भेटुवालले बताउनुभयो ।

सो कक्षा सन्चालनकालागि अभिभावक आफैँले श्रमदान गरेर भवन बनाउने र हेरालुलाई प्रत्येक घरमा एक एक सय रुपैयाँ संकलन गरेर तलब उपलब्ध गराइने अध्यक्ष तामाङले बताउनुभयो । विशेषगरि मगर र तामाङ समुदायको बसोबास रहेको सिंगो एउटा वडामा अहिले २९ घर परिवार मात्रै बस्छन् । गाउँमा सेवा सुविधा नभएको भन्दै वर्षेनि बसाई सर्ने क्रमले गाउँ रित्तिदै गएको स्थानीयले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!